arrow

राजनीतिक र नैतिक संकटमा प्रचण्ड र माधव नेपाल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
prachanda-madhavs.jpg
तस्बिर– फाइल

काठमाडौं । संसदीय राजनीतिमा आएको १५ वर्षपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला राजनीतिक संकटमा परेका छन् । त्यसैगरी सधै शक्तिको केन्द्रमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि पार्टी विभाजन गरेपछि राजनीतिक जीवनमा संकट भोगिरहेका छन् । 

कांग्रेसलाई सत्तामा पुर्याएपछि आगामी संसदीय दलको निर्वाचसम्म गठबन्धन बलियो बनाएर लैजाने र संसदीय निर्वाचनमा भाग लिने अपेक्षासहित सरकारमा सहभागी भएका यी दुई नेतालाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले दुवैलाई राजनीतिक संकटमा डोहोर्याएको हो । 

प्रचण्डको साथमा लागेर माधव नेपालले एमसीसीको विरोध गर्नु र प्रचण्डले एमसीसी मूख्यालयलाई पत्र लेख्नु दुवैका लागि घातक देखिए । पाँच दलीय गठबन्धन बनाएर सरकारमा गएको माओवादीले अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय सम्हाल्दै आएको छ । त्यस्तै माधव नेपालको पार्टीले पनि स्वास्थ्य, पर्यटन जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाल्दै आएको छ । 

उनीहरु दुवैको चाहना सरकारमै बसेर गठबन्धनकै आडमा चुनाव लड्ने रहेको छ । एमालेलाई हराउने र कांग्रेससँग मिलेर आफ्नो पार्टीको पनि हैसियत बचाउने उदेश्य राखे पनि यसपटक त्यति सान्दर्भिक हुने देखिएन । 

आइतबारदेखि बुधबार र बिहीबारसम्मका घट्नाक्रममले माओवादीले दिएको धोकालाई कांग्रेसले गम्भीर रुपमा लिएको छ । जसका कारण पाँच दलीय गठबन्धनभित्र खटपट उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे । 

बिहीबार राति प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । साँझ साढे दुई घण्टा चलेको गठबन्धन बैठकमा कम्युनिष्ट घटकका नेताहरुले एमसीसीलाई संसदमा पेश गर्न नमानेपछि उनी ओलीलाई फकाउन बालकोट पुगेपछि प्रचण्ड र माधव नेपालवीच टेलिफोन संवाद भएको थियो । 

सो संवादको क्रममा गठबन्धनलाई बचाउने उपायको बारेमा छलफल भए पनि निचोड भने निकालिएको छैन । गठबन्धनबाट बाहिर निस्कन नचाहने तर सरकारले पेश गर्ने प्रस्तावमा सहयोग पनि नगर्ने भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई गठबन्धन टुटे पनि एमसीसी पेश गर्न अधिकार दिइसकेको छ । 

जसले गर्दा प्रचण्ड र माधव नेपाललाई निकै असजिलो महसुस भएको थियो । बिहीबार प्रधानमन्त्री देउवाले पार्टीको निर्णयबाट पछि हट्न सक्ने अवस्था छैन भन्दै सहयात्री दललाई एमसीसी टेबुल गर्न आग्रह गरे पनि साथ पाउन नसकेपछि ओलीको साथ खोज्दै बालकोट पुग्दा प्रचण्ड र माधव नेपाल निकै सशंकित बनेका छन् । 

बालकोटमा देउवाले ओलीलाई संसद खोल्न आग्रह गरेका थिए । प्रचण्ड र माधव नेपालले एमसीसीलाई संशोधन नगरी संसदमा पेश गर्न नसकिने भन्दै पन्छिन खोजेपछि कांग्रेसका नेताहरुले एमालेका नेताहरुसँग भेटघाट थालेका थिए । 

सत्तागठबन्धनभित्र एमसीसी अनुमोदनको विषयलाई लिएर पटकपटक वार्ता–संवाद हुँदै गर्दा कांग्रेसका नेताहरुले एमालेसँग पनि संवाद गरिरहेका थिए । प्रधानमन्त्री देउवा पुग्नुअघि बिहीबार बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजाल ओलीलाई भेट्न पुगेका थिए । 

ओलीले बेलुका हुने गठबन्धनको बैठकपछि मात्रै एमालेले धारणा बनाउने र प्रधानमन्त्रीलाई पनि भेट्न सकिने जनाउ दिएका थिए । सोही अनुसार देउवाले ओलीसँग संवाद गरेका हुन् ।
 
माओवादी र एकीकृत समाजवादीले गत शनिबार कांगेससँग गरेको सहमतिलाई भंग गरी एमसीसीको विपक्षमा उभिएपछि कांग्रेसका नेताहरुले एमालेसँग सम्पर्क बढाएका हुन् । 

त्यसअघि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग पटक पटक भेटघाट गरेका थिए । सञ्चारमन्त्री कार्कीले ओलीसँग टेलिफोनमा पनि कुराकानी गरिरहेका थिए । 

माओवादी केन्द्रले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाभियोग दर्ता गर्ने र त्यसको बदलामा एमसीसी टेबुल गर्ने सहमति गरेको थियो । प्रधानन्यायधीशलाई महाभियोग लगाएपछि बसेको सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न दिने संकेत गरेका थिए । 

तर माओवादीले सहमति उल्लंघन गरेपछि कांग्रेस नेताहरुले एमालेको साथ खोजेका छन् । माओवादीका कारण बुधबार एमसीसी टेबुल नभएपछि कांग्रेस नेताहरुले सत्ताभित्र माओवादीहरुले धोका दिएको  भन्दै आलोचना गरेका छन् । 

कांग्रेसका नेताहरुले प्रचण्ड र माधव नेपालले धोका दिएको भन्दै आलोचना गरेपछि भने गठबन्धन भए पनि कांग्रेसका कार्यकर्ताहरुले भोट माग्ने र भोट हाल्ने कुरामा शंका भएको प्रचण्ड र माधव नेपालको बुझाइ छ । 

पछिल्लो समय माओवादीहरुले कांग्रेसलाई सधै धोका दिँदै आएको र अहिले पनि धोका दिनसक्ने भएकाले कांग्रेसहरु माओवादीसँग त्यतिधेरै विश्वास गर्न सकिरहेका छैनन् । 

त्यस्तो बेला सरकारमै बसेर एमसीसी टेबुल गर्न नदिने प्रपञ्च भएपछि भने माओवादी र सभामुखप्रति कांग्रेसका केन्द्रीय सदस्यहरुले समेत आक्रोश पोख्न थालिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ