arrow

गोठ र टहरा हटाउन मन्त्री आलेले दिएको आदेशको विरोध

पशुपतिलाई बुझ्ने कोही व्यक्ति नपठाएको वैद्यको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
narbotam.JPG

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिएको मौखिक आदेशको गाई तथा घाइते बाच्छाहरूको उपचारमा गाह्रो भएको भन्दै विरोध भएको छ । मठ मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानले पशुपतिनाथ गुह्येश्वरी छाडिएका गाई तथा घाइते बाच्छाहरूको उपचार, संरक्षण, पालनपोषणको लागि बनेका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशको विरोध जनाएको हो ।

गत माघ १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले ‘एक पैसा पनि भाडा नलिई गाई पालन गरेको, के गरेको यस्तो, १५ दिनभित्र खाली गर्न पत्र लेख्नु’मौखिक आदेश दिएका थिए । 

अभियानका संस्थापक आरबी न्यौपाने (गोपाल)ले आफूहरूले चलाएको अभियान सबै नेपालीहरूको साझा भएको बताए । उनले भने,‘भर्खरै मात्र मन्त्री प्रेम बहादुर आलेले गाई पाल्न दिन हुन्न भनेर आदेश दिँदा निकै दुःख लागेको छ । सरकारको काम हामीले गरेका छौ, उल्टै हामीलाई अपमान गरियो ।’ आफूले गाईको राम्रो संरक्षण गरेकै कारण अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको भन्दै नेपाल सरकारले भने अपमान गरेकोमा उनले आपत्ति जनाए ।

‘राति–राति हामीलाई गाईलाई कुकुरले खाएको, धारिलो हतियारले काटेको खबर आउने र सोही समयमा नै हामी गएर गाईको उद्धार गर्दै आएका छौ । आज मन्त्रीको आदेशले गौमाताको अपमान भएको छ,’ उनले भने । न्यौपानेले गाईले नै पशुपतिनाथ पत्ता लगाएको स्मरण गराउँदै पछिल्लो समयमा देशमा पाप बढिरहेको आरोप लगाए । सरकारको काम आफूहरूले गरिदिएको भन्दै पुरस्कार दिनुको साटो उल्टै अपमान गरेको उनको भनाई थियो । 

सांसद तथा समाजसेवी नरोत्तम वैद्यले पशुपति विकास कोषले केही नगरेको भनेर पूर्वाग्रह राख्न नहुने बताए । कोषका पुराना अधिकारीहरूले गाईहरूको राम्रोसँग संरक्षण गरेको स्मरण गराउँदै उक्त समयमा कोषले गाईहरूको संरक्षण गर्न नसकेर आफूहरूको संस्थालाई जिम्मा दिएको बताए । 

वैद्यले कोषले गाईहरूको संरक्षण र व्यवस्थापन गर्न जग्गा नै छुट्टाएको जिकिर गर्दै सर्वोच्च अदालतको परमादेश अनुसार काम गरिरहेको स्पष्ट पारे । परमादेशको उल्लंगन गर्ने कसैको अधिकार नभएको उनको भनाई थियो । मठ मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानले कोषसँग वार्ताको माध्यमबाट छलफल गर्न पर्ने उनले धारणा राखे । कोषसँग हातेमालो गर्नुपर्ने भन्दै उनले कोषसँग जोरी खोज्न नहुने तर्क गरे । विकास कोषले जुन काम गर्दा पनि गुरुयोजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुझाव दिए । 

पशुपति विकास कोष धर्मसापेक्ष भएको जिकिर गर्दै उनले राजनीतिक दलहरूले आफ्नो मान्छे पठाउने तर वास्तविक पशुपतिलाई बुझ्ने कोही व्यक्ति नपठाएको उनको भनाई थियो । लुम्बिनीलाई बृद्धिस्टहरुको स्वर्ग, पशुपतिनाथलाई हिन्दुहरूको स्वर्ग र हिमाललाई पर्यटकीय स्वर्गको रूपमा सरकारले बुझ्न सकेमा देश समृद्ध हुने उनले ठोकुवा गरे । पशुपति नाथमा भएको गौशाला हटाउन खोजेमा उसलाई ठुलो पाप लाग्ने पनि उनले बताए । 

त्यस्तै, पूर्व डिआइजी विजयराज भट्टले २०७१ असोज महिनामा पशुपतिनाथको गौशाला बचाउन संस्थाको स्थापना भएको बताए । उनले भने,‘पशुपतिमा भएको गौनन्दीहरुको संरक्षण तथा छाडेका दुःख पाएका गौहरूको संहार गरिरहेको छौ ।’

भक्तहरूले पुण्य आर्जन गर्नको लागि नन्दीको सेवा आफूहरूले गरिरहेको बताए । क्रियापुत्रीहरूले गाईको गहुत प्रयोग भन्दै उनले बताए । विगत ३ वर्षदेखि गौशालामा गाईहरूलाई लखेट्न लागेको स्मरण गराउँदै सोही समयमा ९-१० वटा गाईको मृत्यु भएको पनि उनले जानकारी दिए । गाईको संरक्षणको लागि कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दिएपछि अदालतले गाईको संरक्षण गर्न आदेश दिए पनि अहिलेसम्म गाईको राम्रो हेरचाह हुन नसकेको उनले जिकिर गरे । भगवान् भोलेनाथको शरणमा परेका गाईलाई संसारको कुनै पनि शक्तिलाई कसैले हटाउन सक्दैन भन्दै जसले कोसिस गरे उसैको नास हुने पनि उनले धारणा राखे । लाखौँ भक्तहरूले गाईलाई चारो दिएर पालेको भन्दै कुनै कोषले पनि गाईको लागि केही लगानी नगरेको उनले स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ