- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन् । झापाको विर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसीसीबारे स्पस्ट धारणा राख्दै आएको बताए ।
एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दाबी गर्दै शर्माले भने, “एमसीसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।”
उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताए । उनले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पारे ।
“बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो”, शर्माले भने, “प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईंहरू तयार हुनुहुन्छ ?”