arrow

गैरजिम्मेवार बन्दै अर्थमन्त्री शर्माले छाडे काठमाडौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
274514922_3819282374962898_905477372667368418_n.jpg.jpg

काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । गत आइतबार सरकारले एमसीसी टेबल गरेको छ र छलफलका लागि आजको बैठक तय भएको छ । 

आजको संसद बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको छ । 

जसलाई संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ । संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसअघि आइतबार पनि उनले संसदमा एमसीसी टेबल गर्नु पर्ने थियो । तर उनको दल माओवादी केन्द्रका अधिकांश नेता एमसीसीको विपक्षमा छन् ।  तर अर्थमन्त्री भएका कारण एमसीसी टेबल गर्नुपर्ने भएपछि उनी बैठकमा उपस्थित भएनन् । उनी उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी टेबल गरेका थिए । 

आज एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनुपर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर गएका छन् । 

सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ । उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि गैरजिम्मेवार बन्दै उपत्यका बाहिर गएको चर्चा चलिरहेको छ । शर्मा पर्वत उद्योग वाणिज्य संघको आजको साधारण सभामा सहभागी हुन कुश्मा पुगेका छन् ।

उनको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ । 

माओवादीले आज संसदमा पनि विरोध गर्ने र सडकमा पनि विरोध गर्ने नीति बनाएको छ । (कारखानाको सहयोगमा)



नयाँ