arrow

उपेन्द्रको ‘एकलौटी विरुद्ध’ भट्टराई पक्षद्वारा देशैभरी हस्ताक्षर सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
babu-ram-upendra-yadav.jpg
फाइल तस्बिर

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल)को अध्यक्ष उपेन्द्र यादवले पार्टी भित्र ‘एकलौटी गरेको’ भन्दै सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई समूहले देशै भरी हस्ताक्षर सङ्कलन गरेको छ। पार्टी भित्र ‘सामूहिक तथा समावेशी नेतृत्व’ को आफ्नो मागलाई अध्यक्ष यादवले सम्बोधन गर्न आनाकानी गरे पछि भट्टराई पक्षधरले देशै भरी हस्ताक्षर सङ्कलन गरेको हो।

आज देखी काठमाडौँमा सुरु हुने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ‘सामूहिक तथा समावेशी नेतृत्व’ को मागलाई छलफलमा लैजाने तर सो मागलाई सम्बोधन गर्न अध्यक्ष यादवले आनाकानी गरेर विधानतः २५ प्रतिशत भन्दा बढीको हस्ताक्षर बुझाएर केन्द्रीय समितिको बैठक बोलाउने योजना अनुसार सो हस्ताक्षर सङ्कलन गरिएको हो।

‘जसपा नेपालका मुख्यतः तीन वटा ठुला खस आर्य, आदिवासी÷जनजाति र मधेसी ‘क्लस्टर’हरूको प्रतिनिधित्व गर्ने पार्टी हो, यसको एकता र एकीकरण पनि सोही अनुसार भएको हो भन्ने भुल्नु हुँदैन,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘बदलिँदो देशको परिस्थिति र पार्टी एकताको पृष्ठभूमिलाई हेर्दै अब एकल नेतृत्वमा होइन, समावेशी र सामूहिक नेतृत्व पार्टी भित्र हुनुपर्छ भन्ने एजेन्डा राख्दै आएका छौँ, त्यसमा सम्बोधन गर्ने काम भइरहेको छैन।’ उनका अनुसार देशैभरका नेता तथा कार्यकर्ताले सो माग गर्दा पनि सो विषयमा छलफल चलाउन नेतृत्वले आनाकानी गरिरहेको छ।

सो विषयमा केन्द्रीय अध्यक्ष यादव, सङ्घीय परिषद् अध्यक्ष भट्टराई, अशोक राई, महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठका बिचमा लाजिम्पाट देखी बालकुमारीसम्म पटक पटक छलफल भए पनि अध्यक्ष यादवले आनाकानी गरे पछि सो विषय जसपामा पेचिलो बन्दै गएको छ।

‘पटक पटक समावेशी र सामूहिक नेतृत्वका बारेमा नेतृत्वलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभए पछि हामीले मुलुकका ७ वटै प्रदेश वाट हस्ताक्षर सङ्कलन सुरु गरेका हौँ,’ सिंहले भने, ‘७ वटै प्रदेशका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन गरेर केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने हाम्रो उद्देश्य हो, हस्ताक्षर सङ्कलन उत्साहजनक रूपमा भइरहेको छ।’ उनका अनुसार सो हस्ताक्षर सङ्कलन बुझाएर केन्द्रीय समिति बैठक बोलाउन बाध्य बनाउने बाहेक अर्को उद्देश्य राखिएको छैन।

‘हस्ताक्षर सङ्कलनलाई पार्टी विभाजनको रूपमा व्याख्या गर्ने काम भएको छ, यो हुँदै होइन, नेतृत्वलाई जबाफदेही बनाउन र पार्टीलाई पार्टी जस्तो बनाउन यो हस्ताक्षर सङ्कलन गरिएको हो,’ सिंहले भने। तत्कालीन भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपामा एकीकरण भएका सिंहका अनुसार कार्यकारिणी समिति बैठकबाट ‘समावेशी र सामूहिक नेतृत्व’का बारे निर्णय हुन नसकेमा केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्णय लिइनेछ । तर, कति सङ्ख्यामा हस्ताक्षर सङ्कलन भयो ? त्यो भने खुलाउन चाहेनन्।

‘हामी  शीर्ष ५ नेतृत्वमा, केन्द्रीय कार्यकारिणी समितिमा, केन्द्रीय समिति देखी संसद्मा पनि बहुमतमा छौ,’ एक असन्तुष्ट नेताले भने, ‘उपेन्द्रजीको अहिलेको स्थिति सबैतिर अल्पमतमा हुनुहुन्छ, अल्पमतमा भएर पनि बहुमतको माग सम्बोधन गर्न आनाकानी गरिरहनु भएको छ, यो अब धेरै दिन चल्दैन ।’ उनका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठकले धेरै विषय टुङ्गो लगाउने छ।

आज देखी काठमाडौँमा सुरु हुने कार्यकारिणी समितिको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय निर्वाचन, समसामयिक राजनीतिक विषयसहित पार्टीको विधान अधिवेशनसम्म एजेन्डा तय गरिएको भए पनि समावेशी र सामूहिक नेतृत्वको विषयलाई छलफलको एजेन्डामा अध्यक्ष यादवले राखेका छैनन्। जसमा यादवसँग असन्तुष्ट भट्टराई समूहले भने आपत्ति जनाउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ