arrow

रोष्ट्रममा आएर झुट नबोल्न गगन थापाको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
gagan-kumar-thapa-2078-11-15.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपालले नचाहेसम्म अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी अगाडि बढ्न नसक्ने बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा भाग लिँदै थापाले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेर एमसीसीलाई पठाउने बताए । 

उनले प्रमुख प्रतिपक्ष दल एमालेलाईसमेत समावेश गरेर अगाडि बढोस् भन्ने चाहना कांग्रेसको भए पनि नारा लगाएर बसेकाले पूरा हुन नसकेको बताए । आफूहरुको प्रयास जारी रहेको भन्दै केही दिनमा त्यो पूरा हुने विश्वास उनले व्यक्त गरेका छन् । 

उनले नेपालसँग आन्तरिक खर्चबाट साधारण खर्चसमेत धान्न सक्ने अवस्था नभएको भन्दै नेता थापाले राष्ट्रिय आवश्यकता पूरा गर्न बाह्य सहयोग जरुरी रहेको बताए । 
उनले नेपालको संविधानमा प्रतिकुल नहुने गरी विदेशी देशहरुबाट अनुदान र सहयोग लिनुपर्ने बताए । उनले झलनाथ खनाल प्रधानमन्त्री हुँदा उपप्रधान एवं अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई अमेरिका पठाएर पहिलो पटक नेपाललाई एमसीसीमा राखिदिन आग्रह गरेको विगत सुनाउँदै भने, ‘त्यसपछाडि स्वर्गीय सुशील कोइराला बाहेक यो हलभित्र रहेको कुनै पनि राजनीतिक दल कोही बाँकी छैन कुनै प्रधानमन्त्री बाँकी हुनुहुन्न । त्यतिमात्र हैन मन्त्रिमण्डलमा एकपटक नाम पल्टाएर हेरौं तत् तत् बेलाको सरकारमा अगाडि बस्ने एक जना सांसद पनि बाँकी हुनुहुन्न ।’

अहिले रोष्ट्रममा आएर पूर्ववर्ती प्रधानमन्त्री एवं मन्त्रीहरुले झुट बोलेको भन्दै सांसद थापाले भने, ‘हामी पालैपिलो त्यो सरकारमा बसेर आउने राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता कमल थापादेखि राष्ट्रिय जनमोर्चाको नेता चित्रबहादुर केसीसम्म यो संसदभित्र रहेको नेपाल मजदूर किसान पार्टी एउटा पार्टी बाहेक कुनै पार्टी छैन जो यो दश वर्षभित्रमा मन्त्रिमण्डलमा नबसेको होस् । कुनै न कुनै कुरामा हस्ताक्षर नगरेको होस् ।’

एमसीसीको विरोध गर्ने सांसदहरुलाई चेतावनी दिँदै थापाले भने, ‘आज राष्ट्रघाती भन्दै गर्दा पहिला औंला आफूतिर फर्काउनु होस् हामी आफैले बनाएको हैन ? हामी आफैले लेखेको हैन ? यहाँसम्म डोहोर्याएर ल्याएको हैन ? त्यसैले सम्माननीय सभामुख महोदय म आग्रह गर्न चाहन्छु धेरै झुट नबोलौं । हामीले यहाँ आएर के भनिदिएका छौं संविधान भन्दा माथि हुन्छ भन्देका छौं । यो हदसम्मको हावादारी कुरा गर्ने ? नेपालको संविधान भन्दा माथि केही हुन्छ ? अनि नेपालको कानूनसँग सन्धिमा भएको कुरा बाझियो भने सन्धि लागू हुन्छ भने त्यस्तो सन्धि त्यस्तो कानून यही संसदबाट कतिवटा पारित गरेका छौं ?’



नयाँ