arrow

तनहुँको मुक्तिनाथ च्यवनधाममा कृत्रिम हिमाल

logo
रासस
प्रकाशित २०७८ फागुन १८ बुधबार
Himal.jpg

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा कृत्रिम हिमाल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु २० लाख लगानीमा कृत्रिम हिमाल निर्माण गरिएको हो । यहाँ रहेको १०८ धाराको माथिपट्टि निर्माण गरिएको कृत्रिम हिमालको महाशिवरात्रिको अवसरमा मङ्गलबार उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले कृत्रिम हिमालको उद्घाटन गर्दै मुक्तिनाथ च्वयनधाम गण्डकी प्रदेशकै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको बताए । 

कृत्रिम हिमाल निर्माणसँगै उक्त ठाउँ आकर्षक देखिएको र यहाँ आन्तरिक पर्यटकको चहलपहल सुरु भएको धामका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । अन्नपूर्ण हिमश्रृंखलाको झल्को दिने गरी हिमालय आकृति निर्माण गरिएको छ । 

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम पथको सुरुआती बिन्दु हो । सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम पथ यहीँबाट सुरु हुन्छ । च्यवनधामको नजिकै सेती नदीमा बग्ने पानीको वहावले कुँदेर बनाएको प्राकृतिक ढुङ्गे बगैँचाले जोकोहीलाई लोभ्याउन सक्छ । 

च्यवनधामलाई तनुहँकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीवासीसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङले बताए । मिनी मुक्तिनाथको अवधारणा भएको हुँदा पूर्वाधार निर्माणमा नगरले वर्षेनी बजेट विनियोजन गर्दैआएको छ । 

पृथ्वी राजमार्ग नजिकै सेती नदी रहेको छ । गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो त्यो नदी छेउको थुम्को पवित्र धाम बनेको छ । झकिझकाउ मन्दिर ठड्याइएको छ । धार्मिक पर्यटकको गतिलो गन्तव्य बनेको छ । 

एक्लै हिँड्न पनि डरलाग्ने कुरुप साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीले सोचेका पनि थिएनन् । त्यही किनारको स्वरूप फेरिएको छ । गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएका छन् । 

नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ)को नामले कहलिएको छ । यस ठाउँ भगवान् शिवजीप्रति आस्थावान् भक्तजनको आकर्षणको केन्द्र बनेको छ । हिन्दू धर्मको मात्र होइन, च्यवनधाम बौद्ध धर्मलम्बीको पनि आस्थाको थलो हो । 

विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कसैले हडप्न नखोजेको भए यो परिवर्तन सम्भव थिएन । यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको भए पनि स्थानीयवासीले जग्गाको संरक्षण गरेका थिए ।

जग्गा संरक्षणको दुई वर्षपछि २०६७ सालमा काठमाडौँ बस्दै आएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयवासीको सम्पर्क भयो । पौडेलले सेतीको तिर तपोभूमि भएको सुनाए । त्यसो त शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिको रुपमा पनि परिचित थियो । 

त्यही वर्षको कात्तिकमा मन्दिर सहितका पूर्वाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो । माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरियो । समिति मन्दिर बनाउन कस्सिए पनि आर्थिक अभाव आइलाग्यो ।

देशभर आर्थिक सङ्कलनका लागि महायज्ञ गर्ने परम्परा चलेको बेला त्यसैलाई अनुशरण गर्ने उपाय समितिले निकालेको थियो । पूर्वाधार निर्माणमा आर्थिक सङ्कलन गर्ने उद्देश्यले सोही वर्षको चैत १० देखि १७ गतेसम्म सञ्चालन भएको महायज्ञमा रु एक करोड ५० लाख आर्थिक सङ्कलन भएको थियो । त्यसपछि मन्दिरमा पूर्वाधार निर्माणको क्रम सुरु भएको हो । 

मन्दिरको अलवा मुक्तिनाथकै झल्को दिने १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, उद्यानलगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीको लक्षित गर्दै बौद्धगुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मावलम्बीको जागरुपतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको छ । यहाँ बनाईएको गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने सापकोटाको भनाइ छ ।

मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोड बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान सङ्कलनसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण अष्टमी, बाला चतुर्दशी र शिवरात्रिमा  भक्तजनको बढी घुइँचो लाग्छ । प्रत्येक वर्षको साउन महिनामा शिवपुराण लगाउने गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ