arrow

कास्कीमा मतदाता विवरण अद्यावधिक शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
election-commission167.jpg

पोखरा । स्थानीय तहको निर्वाचनको तयारीका क्रममा कास्कीमा मतदाता विवरण अद्यावधिक गर्ने काम शुरु भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रबारदेखि त्रुटि सच्याउन शुरु भएको छ । 

निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको थियो । प्रदेश निर्वाचन अधिकारी हुमानाथ पराजुलीले आयोगको वेबसाइटमा राखिएको विवरण प्रत्येक वडा कार्यालयमा प्रिन्ट गरेर पठाइएकाले आफ्नो विवरण हेरेर सच्याउनुपर्ने भएमा वडाको सिफारिससहित निर्वाचन कार्यालयमा आउन अनुरोध गरे । एक हप्ताको अवधिमा विवरण सच्याउन नआउनेले पछि विवरण सच्याउने मौका नपाउने उनको भनाइ थियो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्कीमा दुई लाख ८१ हजार ९४० मतदाताको विवरण सार्वजनिक भएको छ । विसं २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउने प्रदेश निर्वाचन अधिकारी पराजुली बताए । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा अहिले २६ हजार ४४८ बढी मतदाता देखिन्छ । 

विवरण अनुसार पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७०५, माछापुच्छ्रे गाउँपालिकामा २० हजार ४६८, मादीमा १८ हजार ७५९, रुपा गाउँपालिकामा १४ हजार ६४४ र अन्नपूर्ण गाउँपालिकामा २० हजार ३६४ जना मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ