arrow

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
_KT_3812 (1).jpg

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधामा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरेको छ । मञ्चको छनोट समितिले यस विधामा टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई मनोनयन गरेको हो । 

मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थक मतदान गर्नेछन् । धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषित गरिनेछ । 

मनोनयनमा पर्ने खेलाडीलाई समर्थकले विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । समर्थकको ५० प्रतिशत मतभार हुनेछ । त्यस्तै समर्थकले एनएएजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेजमा गई मन पर्ने खेलाडीको तस्बीरमा लाईक गरेर पनि मत दिन सक्नेछन् । चैत ७ गते राती १२ बजेसम्म मतदान गर्न पाइने छनोट समितीका संयोजक गोविन्द रेग्मीले बताए । 

सामाजिक सञ्जाल फेसबुक पेजमा आएको लाइकको मतभार २५ प्रतिशत रहनेछ । त्यस्तै २७ खेलका प्रमुख प्रशिक्षक र खेल पत्रकारले दिने मतको मतभार समान १२.५ प्रतिशत हुनेछ । 

मञ्चले यसअघि नै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १८औं संस्करणलाई दशक अवार्डका रुपमा खेलाडीलाई सम्मान गर्ने घोषणा गरिसकेको छ । अन्य विधामा दशक अवार्डबाट खेलाडी सम्मानित हुने भए पनि पिपल्स च्वाइसलाई नियमित अवार्डका रुपमा राखिएको संयोजक रेग्मीले जानकारी दिए । 

‘‘कोरोना महामारीका कारण गत वर्ष नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता न्युन रह्यो । जसका कारण उनीहरूको प्रतिभा प्रदर्शन गर्ने मञ्च साँघुरियो । यद्यपि खेलाडीको मनोबल घट्न नदिन अवार्डलाई निरन्तरता दिन लागिपरेका छौं,’’ संयोजक रेग्मीले भने, ‘‘पिपल्स च्वाइस विधा भने यथावत् ढंगले नै हुनेछ । खेलाडीहरूको प्रदर्शन र सफलतासँगै ओझेलमा परेका प्रतिभाको पनि उच्च मूल्यांकन गर्दै उनीहरूलाई यस विधामा समेट्ने हाम्रो प्रयास हो ।’’

यसपटक पिपल्स च्वाइसबाहेक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक हुनेछन् । त्यस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने नियमति रुपमा हुनेछन् । 

विगतमा जस्तै दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउनेछन् । 

मनोनयनमा पर्न सफल खेलाडी
१. सन्तोषी श्रेष्ठ– एथलेटिक्स
– मध्यम दुरीको दौडमा अब्बल धाविका
– १३ औं सागदेखि पछिल्लो २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएको ९ वटै प्रतियोगिता स्वर्ण  
– हाफ म्याराथनमा पहिलो स्वर्ण (नेपालगन्ज हाफ म्याराथन २०७८), १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा ।
– १३औं सागमा १० हजार मिटरकी स्वर्णधारी उनी गोल्डेन स्प्रिन्ट मिटका उत्कृष्ट खेलाडी (फागुन २०७७)
– गणेशमान सिंह स्मृति १० के रोड रेस (२०७७) मा च्याम्पियन । ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान भंग । 

२. एन्जिला तुम्बापो सुब्बा– फुटबल
– राष्ट्रिय महिला फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर । 
– २०७७ साल फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपीएफ क्लबकी सदस्य ।
– राष्ट्रिय लिगको १२ खेलमा जम्मा १ गोलमात्र बेहोरेको ।
– पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा मासा युनाइटेडबाट खेलेकी । मासाको कप्तानी गरेकी ।
– एन्जिलाको जीवनमा आधारित फिल्म बन्दै, मिलन चाम्सको निर्देशन र प्रेमकुमार श्रेष्ठको निर्माण ।

३. एलिना मर्हजन– टेबलटेनिस
– नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी
– सागमा लगातार दुई पदक (१२ र १३ औं दक्षिण एसियाली खेलकुदको महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल)
 – खेलाडीमात्र नभई प्रशिक्षकमा सक्रिय (स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट टेबलटेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय) ।
– सामाजिक कार्यमा पनि क्रियाशील (१३ औंबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग) 
– टेबलटेनिस परिवारमा हुर्केकी खेलाडी (दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजु नविता श्रेष्ठ सबै राष्ट्रिय खेलाडी)

४. कुशल भुर्तेल– क्रिकेट
– डेब्युमै अब्बल प्रर्दशन 
– नेपाली क्रिकेटले आशा गरेका प्रतिभावान खेलाडी 
– ११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक, पाँच अर्धशतकसहित कुल ४ सय ९८ रन बनाउन सफल
– ६ एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित एक सय ४४ रन । 
– घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबका भरपर्दा ओपनर 
– आईसीसी टी–२० वरीयतामा ३१औं स्थानमा । नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट वरीयता 

५. प्रिन्स दाहाल– ब्याडमिन्टन 
– विश्व ब्याडमिन्टन जुनियर वरीयताका नम्बर वान
– घरेलु ब्याडमिन्टनमा पनि दबदबा (सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनको सिनियरतर्फ रत्नजित तामाङलाई हराउन सफल)
– पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ लगातार दुई उपाधि
– साइनो कप राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन
– इन्डिया इन्टरनेसनल च्यालेन्जमा सिनियरतर्फ सहभागिता
– वरियतामा सातौं, तेस्रो हुँदै नम्बर एक । २०२४ ओलम्पिक प्रोजेक्टका लागि छनोट नेपाली खेलाडी ।


 



नयाँ