arrow

कांग्रेस धनुषा निर्वाचन : २५ सय बढी मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
dhanusa-congress-electionm1.JPG

धनुषा । नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ६ :४५ बजेसम्ममा २ हजार ५ सय बढी मत खसेको छ । निर्वाचन अझै जारी रहेको र अन्तिम मतदाता नआएसम्म नरोकिने निर्वाचन समितिका निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए।

जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा बिहान साढे ११ बजेदेखि जारी मतदानमा अहिलेसम्म २ हजार ५ सय भन्दा बढी डेलिगेटहरूले मत खसाइसकेको निर्वाचन अधिकृत ज्ञवालीले बताए ।

निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान शुरु हुने तालिका भए पनि प्राविधिक कारणले बिहान साढे ११ बजेदेखि मात्र मतदान शुरु भएको जानकारी दिए।

निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र सन्तोष यादवबीच प्रतिस्पर्धा छ । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दिए।

त्यसैगरी, सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दीपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।

सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायतले उम्मेदवारी दिएका छन्।धनुषामा ९१ पदका लागि २ सय ४० उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । 

कांग्रेस धनुषामा ३ हजार १सय ९७ मतदाता रहेका छन्। निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै, ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए। 

निर्वाचनमा ८० जना कर्मचारी खटाएका छन्। निर्वाचन अधिकृत अरुण ज्ञवालीका अनुसार विभिन्न ९१ पदका लागि हुन लागेको निर्वाचनमा १० वटा ब्यालेट रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ