arrow

चैतसम्म मेलम्चीको पानी उपत्यकावासीलाई खुवाउने लक्ष्य, बर्खामा चार महिना सुरुङ बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
Melamchiko-pani.jpg_1617950149.jpeg
तस्बिर– फाइल

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायी रुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायी रुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिए ।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए । 

मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ ।

गत असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए ।

मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंक (एडीवी) ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले जानकारी दिए । सुरुङमा थुुपारिएको ६० हजार मेट्रिक टन गेग्रान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताए । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ