arrow

सङ्खुवासभा दुर्घटना : मृतक सबैको सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
sankhuwasabha-accident-2078-11-26.jpg

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । मादी-६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ  मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी-६ की ३० वर्षीया सीता विक रहेका छन् ।

सो घटनामा मादी-६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी-५ का ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

त्यसैगरी मादी-४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुमको आँैशीडाँडाका सवारी चालक बिपीन निरौला र मादी-४ का ६० वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनीहरु १४ जनाकै घटनास्थलमै मृत्यु भएको थियो । आज बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो ।

बस मादी-६ को सात घुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्रगतिका कारण मादीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाका घाइते पाँच जनालाई हेलिकप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । घाइते पाँच जनालाई नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । घाइते डम्बरबहादुर कार्की, करिष्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङ र युवा पोख्रेललाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ