नेकपा एसका मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब, आत्मसमीक्षा गर्न अध्यक्ष नेपालको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
544
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने आवाज उठेको छ । तेस्रो केन्द्रीय कमिटी बैठकमा मन्त्रीहरूको कार्यशैलीको आलोचना गर्दै केही केन्द्रीय सदस्यहरुले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउनु पर्ने बताएका हुन् ।
खासगरी राजधानीमा बुधबार र बिहीबार बसेको बैठकमा सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी सदस्यहरू (मन्त्री) ले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना गर्दै त्यस्ता मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्ने बताएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाक्रीको आलोचना भएको थियो । स्वास्थ्य मन्त्रीले सोचेजस्तो काम गर्न नसकेको, प्रेम आलेले सरकारी नियुक्तिमा गडबड गरेको, वायुसेवा निगम र अन्य निकायमा गरिएको नियुक्ति बदर गर्नुपर्ने तथा झाँक्रीले अनुगमनको नाममा आफूलाई हिरोइज्म बनाउन खोजेको आरोप लगाएका थिए ।
केन्द्रीय सदस्यहरुले पार्टीसँग समन्वय नगरी अघि बढ्न खोजेकोसमेत आरोप लगाएका थिए । ‘मन्त्रीहरूले पार्टीको पक्षमा काम गर्न नसकेको र समन्वय पनि नभएको गुनासो केन्द्रीय सदस्यहरूले गरे’, बैठकपछि एक केन्द्रीय सदस्यले जानकारी दिए ।
मन्त्रीहरूको कार्यशैली परम्परागत भएको, पार्टीले उठाएका विषय सम्बोधन गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको भन्दै बैठकमा प्रश्न उठेको ती केन्द्रीय सदस्यको दाबी थियो । पार्टी विभाजन भए लगत्तै सरकारमा मन्त्री पठाउँदा अध्यक्ष माधवकुमार नेपालले ६ महिनापछि मन्त्रीहरु परिवर्तन गर्न सकिने बताएका थिए ।
अहिले एस पार्टीभित्र मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो । बैठकमा उठेका प्रश्नको जवाफ दिँँदै अध्यक्ष नेपालले आत्मसमीक्षासहित अगाडि बढ्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
‘कमीकमजोरी भए सच्याउनुपर्छ । जनताको पक्षमा ध्यानकेन्द्रित गरेर काम हुनुपर्छ । आत्मसमीक्षा गरेर अगाडि बढ्नुहोस्’, नेपालले भनेका थिए । बैठकले मन्त्रीहरूलाई देश र जनताको पक्षमा प्रभावकारी काम गर्न निर्देशन दिएको छ ।
एकीकृत समाजवादीबाट झाँक्री, आले र खतिवडासँगै श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ सहभागी छन् ।
एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे छन् । अन्य प्रदेशमा पनि एकीकृत समाजवादीबाट मन्त्री बनेका छन् ।
बैठकले पार्टीका अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिकामा छलफल गरेको थियो ।
सो विषयमा छलफल गर्न केन्द्रीय कमिटीका सदस्यलाई नौ समूहमा विभाजन गरिएको थियो । समूहले यस छलफलका निष्कर्ष प्रस्तुत भएपछि अध्यक्ष नेपालले प्रष्ट पारेका थिए ।
छलफलकै क्रममा मन्त्रीहरको आलोचना भएको पनि ती सदस्यले दाबी गरेका छन् । बैठकले सुझावसहित प्रतिवेदन पारित गरेको छ । पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा तथा आगामी कार्य योजनालगायतका विषय समेटिएको छ । साथै बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।