arrow

सपुतको गीतले माओवादी हतासमा

बाबुराम भन्छन् – तीतो सत्य स्वीकारौं, समाधान खोजौं, सपुतलाई नसरापौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
prakash-saput-pir.jpg

काठमाडौं । प्रकाश सुपतको ‘पीर’ नामक गीतमाथि माओवादी केन्द्र निकटस्थहरुले तिखो टिप्पणी गरिरहेका छन् । सपुतको गीतले माओवादीका स्वार्थी नेताहरुको अवस्था र सच्चा क्रान्तिकारीहरुले भोगेको पीडालाई उदाङ्गो पारिरहेको सन्दर्भमा अहिले माओवादी नेताहरुले उक्त गीतको चर्को विरोध गरेका हुन् । 

यसलाई हतासको मानसिकतासमेत भनी टिप्पणी भइरहेको छ । सपुतलाई युट्युबाट भिडियो हटाउन दबाब समेत दिइएको छ । तर तत्कालीन माओवादी नेता एवं हालका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको बताएका छन् ।

बरु उनले यो गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

गत शुक्रबार सार्वजनिक भएको गीतमा १० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र) माथि समीक्षा गरिएको छ । तत्कालीन अवस्थामा लडाइँमा होमिएका छापामारको पीडा गीतमा पोखिएको छ ।

यो गीतमा वैदेशिक रोजगारीको पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएको छ । तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा शनिबार राति लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन ।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

आइतबार बिहान फेरि डा. भट्टराईले सपुतका बारेमा लेखेका छन्, ‘‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तनपद्धतिले भन्छ।अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन्। हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौं । समाधान खोजौं । प्रकाश सपुतलाई नसरापौं !’’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ