- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेपाली कांग्रेसको चुनाव लक्षित एक महिने अभियान आजदेखि देशभर एकसाथ शुरु भएको छ । अभियानको बाँकेमा केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले उद्घाटन गरेका छन् ।
‘घर–घर जाउँ, कांग्रेस जिताऔं’ अभियानको उद्घाटन गर्दै केन्द्रीय प्रतिनिधिका रुपमा बाँकेमा खटिएका गिरीले गुट उपगुट बिर्सिदै रुख र चारतारे झण्डालाई सम्झिएर कांग्रेसलाई मजबुत बनाउनतर्फ लाग्न निर्देशन दिएका छन् ।
बोलीमा मात्र एकताको कुरो नभई व्यवहारमै हार्दिकता प्रदर्शन गर्दै हृदय हृदय मिलाएर अभियानमा खट्न उनले निर्देशन दिए । ‘टिम स्पिरिटका साथ लाग्नुस्, सबै पालिका र वडामा हामीले जित्नुपर्दछ, बाँके कांग्रेसका लागि ऐतिहासिक जिल्ला हो, हामीलाई अब अल्मलिने छुट छैन, सबैतिर विजय हासिल गर्ने गरी लाग्नुस्’, केन्द्रीय सदस्य गिरीले भने ।
केन्द्रीय सदस्य गिरीले जित्ने मान्छेलाई टिकट दिनुपर्ने सबैको मान्यता भएपनि जित्ने मान्छे को हो भन्ने कुरा पत्ता लगाउन यो अभियानले सहयोग गर्ने बताए ।
विभिन्न पार्टीले नक्कली नारा दिएको भन्दै उनले ती भ्रमहरुलाई चिर्दै घरघरमा पुग्न स्थानीय नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एमसीसी मुलुकको हितमा रहेकाले यसका बारे फैलाइएको अफबाह चिर्न कार्यकर्तालाई निर्देशन दिए । सबै क्षेत्र अस्तव्यस्त भएको र संविधान मिचिएको बेला कांग्रेसले सत्ता सम्हालेको कुरालाई पनि जनतामाझ स्पष्टसंग राख्न गिरीले आग्रह गरे ।
अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले आन्तरिक चुनावमा देखिएको मनमुटाबलाई बिर्सेर एकजुट भइ निर्वाचन अभियानमा खटिन निर्देशन दिए । घरघरमा गएर कांग्रेसले गरेका कामहरुको चर्चा गर्न उनले आग्रह गरे ।
प्रदेश सभापति अमरसिंह पुनले बैशाख ३० गते हुने स्थानीय चुनाव जिते मात्र प्रदेश र संघमा सफलता हासिल गर्न सकिने भन्दै जीत हासिल गर्ने गरी अभियानमा खटिन आह्वान गरे । उनले जसले जनताको मत जितेको छ, उसैले टिकट पाउने भन्दै हाम्रो नभई राम्रो मान्छेले टिकट पाउने बताए ।
जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको चुनावी अभियान उद्घाटन कार्यक्रमलाई पूर्व पार्टी सभापति गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्यहरु बादशाह कुर्मी, अब्दुल हमिद सिद्धिकी, आशा विक, लुम्बिनी प्रदेश कमिटीबाट खटिएकी क्षेत्रीय प्रतिनिधि पुष्पा श्रेष्ठ, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, प्रदेश सभा क्षेत्र नम्बर ३ क का सभापति केशब शाह, बैजनाथ गाउँपालिकाका सभापति देव बहादुर केसी, नेपालगञ्ज ११ की बुथ सभापति ऋचा द्विवेदीले सम्बोधन गरेका थिए ।
जिल्ला उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।