कम्युनिष्ट पार्टीहरु दोकानदार भए, जनताले तिरेको करको हिसाबकिताब हुन्छ – बलायर
प्रकाश बम,
प्रकाशित २०७८ चैत १ मंगलबार
1.7k
Shares
डोटी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले कम्युनिष्टले नेतृत्व गरेको सरकारले देश लुटेको आरोप लगाएका छन् । नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत बडीकेदारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले वडादेखि केन्द्रसम्म कम्युनिष्टले लुटेको बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका टुक्का र कम्युनिष्टहरुको लुटका कारण देश संकटमा परेको बताउँदै सभापति बलायरले कम्युनिष्टहरुले राज्यको ढुकुटी रित्याएको बताए । ‘ओलीका टुक्काले देश संकटमा पर्यो, राज्यको ढुकुटी सकियो उनले भने, ‘कम्युनिष्टले कांग्रेसले जम्मा गरेको ढुकुटी लुकाए, लुटेर खाए र कार्यकर्ता पाले आज उनका नेता कार्यकर्ता विलासी जीवन बिताइरहेका छन् ।’
कम्युनिष्ट नेतृत्वको तीनै तहको सरकारले गरेको लुट, भ्रष्टाचारको पर्दाफास गर्नका लागि भए पनि कांग्रेसले चुनाव जित्नु पर्ने उनको भनाइ छ । ‘कम्युनिष्ट नेतृत्वमा भएका पालिकामा खातापाता, हिसाब किताब देखाइएको छैन,‘ उनले भने, ‘लेखा परीक्षण गरिएको छैन । ती खातापाताहरु खोतल्नका लागि पनि कांग्रेसले जित्नु पर्दछ ।’
सभापति बलायरले कम्युनिष्ट पार्टीहरुलाई दोकानदार (व्यापारी) को संज्ञा दिदै राष्ट्रको, जनताको सम्पत्तिको व्यापार गरेको आरोप लगाए । उनले भने, ‘ती कम्युनिष्टहरु पार्टी होइनन् दोकानदार (व्यापारी) हुन् । यी दोकानदारहरुले जनताको करबाट आएको पैसा लुट गरेर कार्यकर्तालाई बाँडेका छन् । त्यसैले पनि त्यसको लेखाजोखा गर्नका लागि वडादेखि केन्द्रसम्म एकचोटी कांग्रेसको सरकारको आवश्यकता छ । त्यो सरकार निर्माण गर्नका लागि पनि जनताहरुको आवश्यकता छ ।’
कांग्रेसले जितेका पालिकामा भ्रष्टाचार भएको कसैले प्रमाणित गरे आफूहरु राजनीति त्याग्न तयार रहेको बलायरले बताए । ‘हामीले कमाउनका लागि, विलासिताका लागि राजनीति गरेका हैनौं । राजनीतिमा हाम्रो जेल नेल, त्याग तपस्या छ, उनले भने, ‘हामीले जीवन भर जनताको आवाज उठाएका छौं । कम्युनिष्टका कुन नेताले देशका लागि, जनताका लागि बोलेको छ ? उनले प्रश्न गरे ।’
कांग्रेसले जनमतको कदर गर्दै जनताले दिएको मत परिणाम सहर्ष स्वीकार गर्ने बताउँदै उनले हारे पनि जिते पनि कांग्रेस जनताको घरघरमा आउन नछोड्ने बताए । हामी हारे पनि जिते पनि जनताको घरआँगनमा आउन छाडेका छैनौं उनले थपे, ‘जनताको सुख, दुःख पीडामा समन्वय सहकार्य सहयोग गरिरहन्छौं ।’