arrow

मंगलबार सङ्क्रान्ति परेको यस्तो हुनेछ समग्रमा चैत महिना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
monthly-horoscope.jpg

मासिक फल : चैत्र महिनाको सङ्क्रान्ति मङ्गलवार परेको छ, उक्त समयमा शुक्ल पक्षको द्वादशी तिथि, अश्लेषा नक्षत्र, सुकर्म योग, कौलव करण, आनन्दादि योगमा आनन्द योग, तुला लग्न, तुला नवमांशक, कर्कट राशिको चन्द्रमा र रोग वारवेला रहेको देखिन्छ। समग्र ग्रह परिवेश यस्तो रहने छ। सूर्यले चैत्र महिनाभरि मीन राशिमा विचरण गर्ने गर्दछन् ।

दुई वा साढे दुई दिनमा राशि परिवर्तन गर्ने चन्द्रमाबाहेक यस महिनाको प्रारम्भमा मकर राशिमा रहेको बृहस्पति ग्रहले गतिमा अतिचार भई १६ गते कुम्भ राशिको यात्रा प्रारम्भ गर्ने, सुरुमा मकर राशिमा रहेको शुक्र ग्रहले २ गते र २६ गते दुई पटक राशि परिवर्तन गरी क्रमशः मीन र मेष राशिमा प्रवेश गर्ने तथा सुरुमा कुम्भ राशिमा उपस्थित बुध ग्रहले १५ गते राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गरेर आआफ्नो राशि परिवर्तन गर्नेछन्।

तर मकर राशिमा रहेको शनिश्चर, वृष राशिमा रहेको मङ्गल र राहु एवं वृश्चिक राशिमा रहेको केतु ग्रहको भने महिनाभरिको अवस्थिति पूर्ववत् रहने देखिन्छ। यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा मंगलबार सङ्क्रान्ति परेको यो महिना जनता रोगी, क्रोधी र अप्रसन्न रहने सङ्केत छ । जल, जमिन र अग्नि भयको महिना हो, चैत्र महिना। एकातिर जनतामा एक आपसमा लडाइँ, झगडा र द्वन्द्वको लक्षण देखा पर्ने सम्भावना हुन्छ भने राष्ट्र र राजनेताका बीचमा पनि टक्कर, युद्ध र झैझगडाको चरम परिस्थिति देखा पर्नेछ। उपभोग्य वस्तुहरूको मूल्यमा भारी वृद्धि हुनाले जनता आक्रान्त र रुष्ट हुनेछन् ।

राता चिजबिज, गुड, चिनी आदिको दाम घट्ने छ, मेसीनरी सामान, रेशमी र फेन्सी कपडा, इन्धन, तेल, काठ, घाँसफुस, चाराचोकर, चाँदी, तामा, पितल आदिको दाम बढ्ने छ । दाल र गेडागुडीको दाम घट्ने छ भने चामल, जौ, गहुँ, तोरी, बदाम, खानेतेलको दाममा अस्थिरता रहने छ । मादक पदार्थ, चिया, कफी, सुर्तीको दाममा वृद्धि हुनेछ । सरकारले विकास निर्माण र सहयोग बाँडफाँड गर्दा अवैज्ञानिक तरिकाले भेदभावपूर्वक असमान ढङ्गले गर्नाले जनता निराश बन्नेछन् ।

पूरा महिना मङ्गल र राहुको युत सम्बन्ध हुने तथा शनिश्चर ग्रहको सूर्यमाथि तेस्रो पूर्ण दृष्टि रहने भएकाले सट्टा बाजी, चोरी, डकैती, छलछाम र चोर बुद्धि हाबी हुने समय छ । मोटरवाहन र वायुयानको दुर्घटना हुने लक्षण छ, ठाउँ ठाउँमा भूकम्पादि प्राकृतिक प्रकोप, अग्निभय तथा आँधीबेहरी र हुरीको असर पर्नेछ भने कतैकतै सामाजिकर साम्प्रदायिक दङ्गा भड्किने डर पनि रहेको छ।

चन्द्र दर्शन मुहूर्तका आधारमा केही सकारात्मक परिणाम पनि प्राप्त हुनेछ, जस्तै उद्योगधन्दा र वित्तीय कारोबारमा प्रारम्भमा मन्दी रहे पनि महिनाको अन्त्यसम्ममा आशावादी बन्न सकिन्छ। शेयर बजारमा औद्योगिक प्रतिष्ठान, जलविद्युत र प्राविधिक क्षेत्रमा उच्चता रहने छ भने वित्तीय कारोबारको शेयर बजारमा अस्थिरता देखिने छ। १६ गतेपछि बृहस्पतिले राशि परिवर्तन गर्नाले महिनाको अन्त्यसम्ममा चलिरहेको राजनैतिक किचलोले समाधानको बाटो पहिल्याउन सक्छ ।

आम जनतामा स्वस्थताको महसुस हुनेछ, जीवन रक्षक औषधीको मूल्यमा गिरावट आउने वा सरकारले आरोग्य तासम्बन्धी नयाँ नीति सार्वजनिक गर्नेछ । महिला तथा बालबालिकाको हकमा आत्मनिर्भर र स्वाभिमानी तुल्याउन नयाँ कदम चालिने छ। शैक्षिक र प्राज्ञिक गतिविधि र शोध र अनुसन्धानका क्षेत्रमा प्रगति हुनेछ ।

अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दा उच्च पदका कुनै प्रभावशाली व्यक्तित्वको निधन हुने सम्भावना पनि देखिन्छ । पूर्वी राष्ट्रमा प्राकृतिक प्रकोप हुनाले हानि हुनेछ, मध्यपूर्वमा युद्धको भय देखिन्छ, आतङ्ककारी गतिविधि वा घटनाको सङ्केत छ । यस महिनाको दोस्रो साता भित्री मधेस र तराईको तापक्रममा ह्वात्तै वृद्धि हुने र गर्मीजन्य रोग व्याधिको प्रकोप देखिन सक्छ । महिनाको अन्त्यतिर कतै कतै राम्रो वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिन्छ । खास गरी ०१, ०५, ०८, १०, २०, २१, २२, २६, २७, २८, २९ र ३० गते वर्षा बादलको योग रहेको समय हो ।

मासिक राशिफल :

मेष : बाह्रौँ भावमा सूर्यदेवले भ्रमण गर्ने समय भएकाले यस अवधिमा खास गरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नति प्रगति गर्न सक्ने र आयमा वृद्धि गर्ने समय हो। स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । वैवाहिक जीवन र प्रेम सम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौँ भावमा सूर्यको पूर्ण दृष्टि हुने भएकाले यस अवधिमा मुद्दा मामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । याद गर्नुहोला, बाह्रौँ भाव खर्चको घर पनि हो, त्यसैले अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला । यो धन सम्पत्तिको थैलो कसेर राख्ने समय हो, लापरबाही गर्दा गहना गुरिया वा रुपैयाँ पैसा चोरी हुने खतरा हुन्छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरबाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिन सक्छ । यसै समयावधिमा सँगीसाथीबीचमा मौज मस्ती र खानपानमा खर्च बढ्ने परिस्थिति बन्नेछ । तर जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ। दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ। त्यस्तै नातागोताका सदस्य एवं मित्र वर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ । महिनाभरि राशि स्वामी मङ्गल ग्रहले दोस्रो भाव अर्थात् धन स्थानको भ्रमण गर्नेछ । यो समय मिठो खाने, राम्रो लगाउने र महँगा महँगा वस्तुको खरिद गर्ने इच्छाको जागृति हुने समय हो । कहिलेकाहीँ सांसारिक सुख सुविधा भोग गर्न र मौज मस्तीमा धन खर्च गर्ने परिस्थिति पनि बन्न सक्छ। दशमेश शनिश्चर स्वगृही भएर दशम भावमा नै बसेको हुँदा श्रमिक तथा कर्मचारीले नाम र प्रतिष्ठा बढाउने कुनै काम प्रारम्भ गर्न सक्नुहुन्छ। सप्तमेश शुक्रले सुरुमा लाभ भावमा र महिनाको अन्त्यमा तपाईँको आफ्नै राशिमा उपस्थिति जनाउने हुँदा गृहिणीहरूका लागि जिम्मेवारी र दायित्व बढ्ने समय हो। कतै सानो त्रुटिले काम बिग्रने र खर्चमा आकस्मिक वृद्धि हुने सम्भावना देखिन्छ । पञ्चमेशसमेत सूर्य नै भएको र बाह्रौँ भावको यात्रा हुने हुँदा विद्यार्थीहरूका लागि पढाइमा होइन, ध्यान अन्तै केन्द्रित हुने समय छ, तर पढाइलाई माध्यम बनाएर विदेश यात्राको योजना बनाउने हो भने सफलता मिल्नेछ । त्यस्तै व्यवसायीहरूका निमित्त अचानक व्यापारमा मन्दी छाउन सक्छ, त्यसैले सकेसम्म कार्यक्षेत्रमा आफैँ खटेको जाति हुन्छ । सहयोगीले विश्वासघात गर्ने समय छ, सचेत हुनुपर्छ । यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २८, २९ र ३० गतेको चन्द्रमा कमजोर रहेकाले ती दिन सतर्क र संयम हुनु उचित हुनेछ । यस महिनामा ग्रहजन्य कुनै पनि अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईँले दोस्रो भावमा रहेको राशि स्वामी मङ्गलको शुभताका लागि प्रत्येक मङ्गलवारका दिन भगवान् गणेश वा भगवान् हनुमानको आराधना गरी देवालयमा आफैँले वा घरका कुनै सदस्यले चोखोनीतो गरी निर्माण गरेको २१ वटा लड्डु चढाउँदा लाभ हुन्छ।

वृष : यो समय राज्य स्थान वा लाभ भावमा सूर्यदेवले परि भ्रमण गर्ने समय हो । इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा वृद्धि हुने सम्भावना हुन्छ । सरकारको उच्च ओहदाका मानिसहरूसँग तपाईँको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईँले फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । तपाईँ स्वयंले वा जीवन साथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्न सक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईँको इज्जत र प्रतिष्ठामा अझ वृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागिर तपाईँको हातमा आउने छ । स्वयं आफैँले वा जीवनसाथीले बढुवा प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । प्रेम जीवनमा भने कलह र विवादको सम्भावना देखिन्छ । त्यस्तै दाम्पत्य जीवनमा पनि नोकझोक र कलहको वातावरण बनिरहन्छ, त्यसैले पार्टनरको भावनालाई कदर गर्नुहोला । बालबच्चाको स्वास्थ्य स्थिति र आचरणबारे पनि सतर्कता अपनाउनु पर्छ । यो तपाईँको राशि स्वामी शुक्र ग्रहले दसौँदेखि बाह्रौँ भावसम्मको यात्रा गर्ने महिना हो । सामान्यतया कार्यक्षेत्रमा आफ्नो वर्चस्व रहने र साख बढ्ने समय हो । कर्मचारीले आफ्नो सीप र क्षमताको प्रदर्शन गरी प्रतिष्ठा बढाउने अवसर पाउने छन् । आफ्ना कुराको सुनुवाइ हुने समय भएकाले हाकिम वा अभिभावकलाई खुसी बनाउने समय हो । किनमेल र कारोबारबाट फाइदा हुन सक्छ । तर महिनाको अन्त्यमा अचानक खर्चको मात्रामा वृद्धि हुन सक्छ । दशमेश शनिश्चरले भाग्य भावको यात्रा गरेको समय भएकाले श्रमिक तथा कर्मचारीका लागि विश्वासको वातावरण बन्नाले कार्यक्षेत्रमा सफलता प्राप्त हुने समय छ । सप्तमेश मङ्गलले तपाईँकै राशिको भ्रमण गरेको समय छ, त्यसैले गृहिणीहरूका लागि जाँगर बढ्ने समय हो, शरीर पनि स्वस्थ रहने देखिन्छ । तर शिरमा बसेको राहु र सातौँ घरको केतुले पतिपत्नीका बीचमा ठास्सठुस्स र चिन्ता र शङ्का बढाउन सक्छ, होस राख्नुपर्छ । पञ्चमेश बुधले कर्म क्षेत्र र लाभ भावको यात्रा गरेको देखिन्छ, त्यसैले विद्यार्थीहरूका लागि यो महिना जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने समय छ । व्यवसायीहरूका निमित्त सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२, २३, ३० र ३१ गते व्यवहारिक समस्या र तनाव उत्पन्न हुने कमजोर दिन रहने छन् । ग्रहजन्य अशुभताको निवारणका लागि यो महिना रिस र क्रोधको नियन्त्रण गर्नुहोला, त्यसका लागि शिरमा रहेको मङ्गल र राहुको दुष्प्रभाव नहोस् भन्ने उद्देश्यले तपाईँले रातो कपडामा दुई मुठी मुसुरोको दाल बाँधेर सिधा र दक्षिणाका साथमा हरेक मङ्गलवारका दिन भिखारीलाई दान गर्दा पनि मङ्गल ग्रह प्रसन्न भई शुभ फल प्राप्ति हुनेछ ।

मिथुन : दशम भाव अर्थात् कर्म क्षेत्रमा सूर्यदेवले साथै भाग्यभाव र कर्म क्षेत्रमा राशि स्वामी बुधले भ्रमण गर्ने महिना हो, २०७७ सालको अन्तिम महिना । त्यसैले यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने समय हो । व्यवसायीहरूले आफ्नो व्यापारिक प्रतिष्ठानको उन्नतिको प्रयास गर्ने समय हो । यस अवधिमा तपाईँको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईँले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिनु हुनेछ । मनले चाहेको जिम्मेवारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ । व्यापारीहरूले राम्रो मुनाफा कमाउने छन् । कमाएको धन सञ्चित हुने वा ऋण भार कम गर्न उपयोग गरिने छ । सरकारी अड्डा अदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन उचित समय छ । नयाँ जिम्मेवारी पाउने र चाहेको उपलब्धि हासिल गर्न सक्ने समय हो । प्रेम जीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन पाइँदैन । कुल, परम्परा र आध्यात्मिकतातर्फ समेत सामान्य चासो बढ्न सक्छ । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्म क्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यावसायिक र व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना पनि देखिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुन सक्छन् । राशि स्वामी बुध ग्रहले नवौँ र दसौँ घरमा भ्रमण गर्नेछ । यति वेला कुनै नयाँ मित्र वा मार्गदर्शकसँग चिनजान र भेटघाट हुने समय हो । पदोन्नति हुने सम्भावना छ भने चाहेको परिणाम हात पार्न सक्नु हुनेछ । मस्तिष्क धार्मिक क्रियाकलाप र जीवन सम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । पारिवारिक सम्बन्ध अनुकूल रहने छ । यसै महिना दशम भावको मालिक बृहस्पतिले भाग्य भावको यात्रा प्रारम्भ गर्नेछ । त्यसैले पेसा र व्यवसायमा आबद्ध व्यक्तिले गुमेको प्रतिष्ठा र मानसम्मान प्राप्त हुनेछ । खास गरी श्रमिक तथा कर्मचारीले १६ गतेपछि चाहेको परिणाम पाउन सक्नुहुन्छ । गृहिणीहरूका लागि पनि सप्तमेश बृहस्पतिको राशि परिवर्तनको प्रभाव सकारात्मक हुनसक्छ । अब परिवारका सदस्य र आफन्तको पूर्ण साथ सहयोग प्राप्त हुनेछ । पञ्चमेश शुक्रले नवौँदेखि एघारौँ भावसम्मको यात्रा गर्ने समय हो, त्यसैले विद्यार्थीहरूका लागि पनि उत्तम समय आएको छ, परीक्षा, अन्तर्वार्ता वा प्रतियोगितामा गरेको मिहिनेतमा भाग्य बलसमेत थपिने समय हो । व्यवसायीहरूका निमित्त थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । दृढ इच्छा शक्तिका कारण विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम हुनेछ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, २३, २४ र २५ गते तपाईँका लागि अशुभ रहने छन् । ग्रहजन्य अशुभ परिणाम नहोस् भन्ने उद्देश्यले तपाईँले आठौँ भावमा बसेको शनिको प्रियताका लागि हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु पर्दछ ।

कर्कट : यो सूर्यदेवले भाग्य भावको यात्रा गरेको समय हो । अतः पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । सन्तानले उन्नति प्रगति गर्नेछन् । दृढ इच्छाशक्तिको उदय हुनेछ । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । गरेको कर्ममा भाग्यको साथ मिल्नेछ । कार्यक्षेत्र र बन्द व्यापारमा वर्चस्व स्थापना हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सामाजिक गतिविधि, परोपकारी काम र दान धर्मको समय हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धात्मकता सफल भइने छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार जनका दृष्टिले राम्रै समय छ । तर यस भावमा रहेको सूर्यको केही अशुभ फल पनि प्राप्त हुन्छ, जस्तै पिता वा पिता तुल्य व्यक्तिको स्वास्थ्यमा बाधा पुर्‍याउन सक्छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुन सक्छ । महिनाको प्रारम्भमा दैनिक र बाध्यताकारी खर्चको मात्रामा ह्वात्तै वृद्धि हुनसक्छ । यस महिनाको पहिलो दिन तपाईँको राशि स्वामी चन्द्रमाले पनि भाग्य भावको यात्रा गरेको अवस्था छ, यसको प्रभावले वाणीमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यवसाय वा पेसामा राम्रो उपलब्धि हासिल हुनेछ । यात्राबाट निश्चित लाभ प्राप्त हुनेछ । दशम भावको मालिक मङ्गलले लाभ भावमा राहुका साथमा यात्रा गरेको परिस्थिति भएकाले श्रमिक तथा कर्मचारीका लागि सोच र बुद्धिको उपयोग गर्ने समय हो, बौद्धिक र प्राविधिक क्षमताको प्रशंसा हुनेछ, तर हरेक काममा बाहिरी मान्छेको हस्तक्षेप हुनसक्छ । गृहिणीहरूका लागि पति गृहको मालिक शनिश्चर सप्तम भावमा नै रहेकाले रमाइलो समय छ, सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्ने समय छ । गीत सङ्गीत, नृत्य र अभिनय अथवा अन्य कला र साहित्यका विषयमा रुचि बढ्ने समय हो । विद्यार्थीहरूका लागि पठनपाठनप्रति पूर्ण रूपेण समर्पित हुनु नै ठिक हुन्छ, किनकि यो महिना गरेको मिहिनेतको परिणाम यादगार बन्न सक्छ । व्यवसायीहरूका निमित्त बन्द व्यापारमा पारिवारिक सहयोगको खाँचो हुनेछ । व्यापार विस्तारका लागि गरिएको लामो यात्रा फलदायी सिद्ध हुनेछ । चन्द्र गोचरका आधारमा यस महिनाको ०८, ०९, १०, १७, १८, २५, २६ र २७ गते तपाईँका लागि कमजोर साबित हुने दिन हुन्, अतः सचेत रहनु होला । ग्रहजन्य दुष्प्रभाव निवारणका लागि तपाईँले यो महिना तामाको बाला वा चुरा बनाएर दाहिने हातको नारीमा आइतबारका दिनदेखि धारण गरेमा पनि सूर्यको शुभ प्रभाव पाउन सकिन्छ ।

सिंह : यो महिना सूर्यले अष्टम भावमा यात्रा गर्ने महिना हो । यो दुर्घटना कारक भाव भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । हरेक काममा विघ्न र ढिलासुस्ती हुनेछ । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्नुपर्ने हुन्छ । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । अनायासै खर्चको मात्रामा वृद्धि हुने समय छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय रहनेछन्, उनीहरूले तपाईँका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । पछाडि बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय हो । सरकार, प्रशासन वा अड्डा अदालतका काममा पनि विघ्न हुनसक्छ । कार्यक्षेत्रमा सिनियर्सहरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । धन स्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउने समय हो । त्यस्तै बन्द व्यापारमा पनि घाटा हुन सक्छ । यस अवधिमा बोलीमा अङ्कुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु वाञ्छनीय हुन्छ । आफन्तका बीचमा नै विश्वासको कमी हुन सक्छ । आफन्तका बीचमा राम्रो व्यवहार पुर्‍याउन नसक्नाले विना कारण झगडा र विवाद हुने समय छ । स्वास्थ्यस्थितप्रति समेत सचेत हुनुपर्छ, खानपान र आहार विहारको अनुशासन पालना गरेको जाति हुन्छ । भगवान् सूर्यनारायण तपाईँको राशि स्वामीसमेत हुनुहुन्छ, राशि स्वामीले अष्टम भावको यात्रा गरेको समयावधि त्यत्ति गतिलो समय मानिँदैन, यसै अवधिमा अचानक कुनै सङ्कट समेत देखिन सक्छ । खास गरी दैनिक व्यवहारमा ड्राइभिङ गर्दा, हात हतियारको प्रयोग गर्दा, आगो वा विषालु वस्तुको संसर्गमा रहँदा अहिले तपाईँले सतर्कता अपनाएको नै जाति हुन्छ । दशमेश शुक्रले यो महिना अधिकांश समय आठौँ भावकै यात्रा गर्नेछ, त्यसैले श्रमिक तथा कर्मचारीका लागि मनमा अनावश्यक चिन्ता र भय सलबलाउने समय छ । गृहिणीहरूका लागिसमेत सप्तमेश शनिश्चरले छैटौँ भावको यात्रा गरेको हुँदा शत्रु र प्रतिस्पर्धीहरू प्रबल हुने समय हो । घमन्ड र जिद्दी पना त्याग्नुहोला, नत्र ठुलो कलहको वातावरण बन्न सक्छ । विद्यार्थीहरूका लागि प्रतिस्पर्धी र प्रतिद्वन्द्वीले तपाईँलाई पछि पार्ने अनेक तरिका अपनाउन सक्छन्, गोप्य ढङ्गले तैयारी गर्नुभयो भने मात्र सफलता तपाईँको हातमा हुनेछ । व्यवसायीहरूका निमित्त मस्तिष्कलाई आराम हुने समय छैन । सहयोगी र साझेदारले फरक व्यवहार देखाउनाले तनाव बढ्ने समय देखिन्छ । यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २८, २९ र ३० गतेको चन्द्रमा कमजोर रहेकाले ती दिन सतर्क र संयम हुनु उचित हुनेछ । राशि स्वामी सूर्यले अष्टम भावको यात्रा गर्ने समय भएकाले भएका दुष्प्रभाव र खराब फलको अन्त्य होस् भन्ने उद्देश्यले तपाईँले दिनहुँ सूर्योदयको १ घटिका ९२४ मिनेट० भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्ध जल वा गङ्गा जल राखी सूर्यलाई अर्घ्य दिँदा लाभ हुन्छ।

कन्या : सातौँ घर साझेदारी र दाम्पत्य जीवनसँग सम्बन्धित घर हो, यो महिना यसै भावमा सूर्यले भ्रमण गर्ने समय हो । यसको प्रभावले बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईँको जीवन साथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । बन्द व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने समय छ । कार्यक्षेत्रमा पनि तपाईँको वर्चस्व कायम हुनेछ । तर यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । समग्रतामा बन्द व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना हो, चैत्र महिना । यद्यपि यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यावसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । अतः तपाईँले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । सूर्यको पूर्ण दृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्य भागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यस्थितप्रति गम्भीर हुनु जाति हुन्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिना मसिना कुरामा चिन्ता र शङ्का गर्नहुँदैन । निरङ्कुश बानी र कडापन पनि तपाईँका कमजोरी बन्न सक्छन् । यो तपाईँको राशि स्वामी बुध ग्रहले छैटौँ र सातौँ घरमा भ्रमण गर्नेछ, त्यसैले तर्क क्षमता र निर्णयात्मक शक्तिमा वृद्धि हुने समय छ । यदाकदा अहङ्कार र घमन्ड हाबी हुनाले सामान्य विषयमा झैझगडा र विवाद खडा हुने डर हुन्छ । यस अवधिमा अल्छी नगर्नु र टीमवर्कका माध्यमबाट काम गर्नु राम्रो हुन्छ । दशमेशसमेत बुध ग्रह हो र यसको उपस्थिति महिनाको १५ गते सम्म छैटौँ भावमा हुने हुँदा उक्त अवधिमा श्रमिक तथा कर्मचारीहरूका लागि त्यति अनुकूल समय नभए पनि त्यसपछि उपलब्धिपूर्ण समय रहने छ । सप्तमेश बृहस्पतिले पनि १६ गतेपछि राशि परिवर्तन गर्नेछ, त्यसैले यस अवधिमा गृहिणीहरूका लागि प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनुका साथै काममा अपेक्षित सफलता पनि मिल्नेछ । छोराछोरीबाट पनि सुख एवं सन्तोष प्राप्त होला । विद्यार्थीहरूका लागि आन्तरिक प्रतिभाको प्रस्फुटन हुने राम्रो समय छ, कला र साहित्यप्रति झुकाव छ । व्यवसायीहरूका निमित्त हुन त यो महिना तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने समय छ, तर मन रोमान्टिक र प्रेमिल बन्न सक्छ र व्यापारमा ध्यानभंग हुने खतरा छ, सचेत हुनुपर्छ । यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२, २३, ३० र ३१ गते व्यवहारिक समस्या र तनाव उत्पन्न हुने कमजोर दिन रहने छन् । यो महिना ग्रहजन्य कुनै पनि अशुभ परिणाम नहोस् भन्ने उद्देश्यले तपाईँले राशि स्वामी बुधको प्रियताका लागि कुनै बुधवारका दिन हरियो रङको चुरा भगवती दुर्गाको मन्दिरमा वा तेस्रो लिङ्गीलाई दान गर्नुपर्दछ ।

तुला : यो महिना सूर्यले तपाईँको राशिबाट छैटौँ भावमा गोचर गर्ने समय हो । यो कार्यक्षेत्र वा बन्द व्यापारका लागि कडा परिश्रम गर्ने समय हो । त्यस्तै वैवाहिक जीवन र प्रेम सम्बन्धका लागि सकारात्मक समय हुनेछ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । यस अवधिमा तपाईँले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दा मामिला वा सरकारी काममा सफलता मिल्नेछ । यो उधारो वा कर्जा चुक्ता गर्ने समय पनि हो । हुन त शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काढ्ने र कुरा काट्नेहरू आफैँ चुप लाग्नेछन् । तर पनि यो शत्रु पक्ष अर्थात् प्रतियोगी र प्रतिस्पर्द्धीसित सतर्कता अपनाउने समय हो । त्यसैले कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौँ भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहार विहारमा सचेतता अपनाउनु जायज हुनेछ । त्यस्तै सूर्यले बाह्रौँ भावमा पूर्ण दृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो । राशि स्वामी शुक्रले यस महिना पाँचौँदेखि सातौँ भावसम्मको यात्रा गर्नेछ । मनमा प्रेमिल भावना र विनोदी स्वभाव विकसित हुने समय चल्दैछ । विद्यार्थीहरूले योग्यता र सीपको भरपुर प्रयोग गर्ने समय हो । गृहस्थीहरूले सन्तानका क्रियाकलाप र उन्नति प्रगति देखेर दङ्ग पर्ने समय हो । गीत, सङ्गीत, चलचित्र वा भुलिने खेल वा गेमप्रति झुकाव बढ्ने समय पनि हो । महिनाको पहिलो दिन दशमेश चन्द्रमाको छैंटौं भावमा नै उपस्थिति छ, त्यसैले यो महिना श्रमिक तथा कर्मचारीका लागि स्वास्थ्यस्थितमा सामान्य असर पर्ने समय छ, खानपान र आहार विहारको अनुशासन पालना गरेको जाति हुन्छ । सप्तमेश मङ्गलको अष्टम भावमा राहुका साथमा उपस्थिति छ, अतः गृहिणीहरूका लागि मन मस्तिष्क असन्तुलित बन्न सक्छ, वाणी र व्यवहारमा सामञ्जस्य नहुन सक्छ । स्वास्थ्यमा बाधा र परिवारमा असमझदारी जस्ता समस्या हुने समय छ । विद्यार्थीहरूका लागि अत्यधिक आत्मविश्वासले तपाईँको रिजल्टमा असर पुर्‍याउने समय भएकाले कुनै विषयको गम्भीरतालाई बेवास्ता नगर्नुहोला । व्यवसायीहरूका निमित्त स्वास्थ्य सम्बन्धी विविध क्षेत्रका कारोबारीले सफलता पाउने समय रहेको छ । तर कार्यक्षेत्रमा विविध समस्या देखिन सक्छन् । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, २३, २४ र २५ गते तपाईँका लागि अशुभ रहने छन् । कुनै पनि ग्रहजन्य अशुभता नहोस् र शुभ फलमा वृद्धि होस् भन्ने उद्देश्यले यो महिना तपाईँले अष्टमम भावमा बसेको राहुको प्रियताका लागि श्रीखण्ड चन्दनको एउटा सानो टुक्रा आफ्नो पर्स वा सधैँ बोक्ने झोलामा हर हमेसा राख्नुपर्दछ ।

वृश्चिक : सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौं भावमा सूर्यले गोचर गर्ने महिना प्रारम्भ भएको छ। अब तपाईँको कार्यक्षेत्र र बन्द व्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ। मनमा ठुलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ। यो नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ। सरकारी काम वा सरकार सम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले खूब कमाइ गर्ने समय आएको छ। जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय । यस अवधिमा शिक्षार्थीहरूका लागि केही समस्या उत्पन्न हुनसक्छ । हुन त पढाई लेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तन मननमा बढी निर्लिप्त हुनुपर्ने समय छ। पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ। यो महिना तपाईँले नियमित आहार विहारको अनुशासन पालना गरेको राम्रो हो, अन्यथा पेट र पाचन प्रणालीका रोग व्याधिले कष्ट दिनेछ। गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ। बालबच्चाको खानपिन र स्वास्थ्यस्थितप्रति सचेत हुनुपर्छ। धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम र प्रणय प्रसंगका लागि यो त्यत्ति राम्रो समय देखिँदैन। बरु ध्यान, कसरत, योग र अध्यात्मका क्षेत्रमा शान्तिको अनुभूति हुने समय हो। प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेम प्रसङ्ग, प्रणय एवं रति रागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ। हिजोआज राशि स्वामी मङ्गल ग्रहले सातौँ घरको यात्रा गर्दै छ, त्यसैले यो आपसी सम्बन्ध सुधार्ने तथा व्यापारिक साझेदारका बीचमा रहेको द्वन्द्व, टक्कर वा विवादलाई निवारण गर्ने समय हो। यस्तै, यो विपरीतलिंगीहरूका माझमा लोकप्रिय हुने समयावधि पनि हो। भोगविलास र आनन्दप्राप्तका लागि मनको आकर्षण रहने छ। दशमेश शुक्रले यो महिना चौथोदेखि छैटौँ भावसम्मको यात्रा गर्नेछ, त्यसैले श्रमिक तथा कर्मचारीका लागि यो महिना उपलब्धिपूर्ण नै रहने छ। राशि स्वामी सातौँ भावमा रहेकाले गृहिणीहरूका लागि परिवार एवं साथीभाइसित रमाइलो जमघट हुने समय छ। त्यसै भावमा बसेको राहुको प्रभावले पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने समय छ । विद्यार्थीहरूका लागि दार्शनिकता प्रति झुकाव बढ्ने समय छ, कुनै समसामयिक विषयको चिन्तनमा समय बित्ने छ। व्यवसायीहरूका निमित्त आत्मविश्वासमा वृद्धि हुनाले लगातार सफलता प्राप्त हुने समय छ। शिक्षा क्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहना गुरियाका व्यापारीका लागि यो महिना राम्रो समय देखिन्छ । चन्द्रगोचरका आधारमा यस महिनाको ०८, ०९, १०, १७, १८, २५, २६ र २७ गते तपाईँका लागि कमजोर साबित हुने दिन हुन्, अतः सचेत रहनुहोला। ग्रहजन्य अशुभता निवारणका लागि तपाईँले यो महिना राहु ग्रहसँग युत सम्बन्ध बनाएर बसेको राशि स्वामी मङ्गलको बलबृद्धि होस् भन्ने उद्देश्यले दैनिक गणेश कवच वा हनुमान् चालिसाको पाठ गर्ने एवं भगवान् गणेश वा हनुमानजीको आराधना गर्ने बानी विकसित गर्नुपर्दछ।

धनु : तपाईँको राशिबाट चौथो घर अर्थात् मातृ सुख, वाहन सुख प्रदान गर्ने भावमा सूर्यको गोचर प्रारम्भ भएको छ। आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । हुन त यस समयावधिमा व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने छन् । आयआर्जनका नयाँ नयाँ अवसरहरू मिल्नेछन् । भौतिक सामाग्री, भोगविलास र सुख सुविधामा वृद्धि हुनेछ, परिणामतः कमाएको धन सञ्चित नहुने महिना हो । बरु ऋण काढेर व्यवहार धान्नुपर्ने परिस्थिति खडा हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा वृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । नयाँ घर घडेरीको जोहो गर्ने मानसिकता बन्ने र कार्यान्वयन गर्न सकिने छ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा बसेको क्रूर ग्रहको मानसिक उल्झन बल्झाउने परिणाम प्राप्त हुने गर्दछ । मातापिताको स्वास्थ्य स्थिति कमजोर हुन्छ, खास गरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाब र तिक्तता बढाउने समय हो । हृदय र पेटसम्बन्धी स्वास्थ्य समस्यासमेत आइलाग्न सक्छ । प्रेम सम्बन्ध र दाम्पत्य जीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । यो समय घमन्ड र जिद्दी पना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यावसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । तपाईँको राशि स्वामी बृहस्पति ग्रहले यो महिना दोस्रो र तेस्रो भावको यात्रा गर्नेछ । परिणामतः आय क्षेत्रमा उल्लेखनीय अभिवृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धन खर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । दशमेश र सप्तमेश मानिने बुधले यो महिना तृतीय र चतुर्थ भावको यात्रा गर्नेछ, त्यसैले यो महिना श्रमिक तथा कर्मचारीका लागि पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । कार्यालयमा सहकर्मीले राम्रो साथ दिनेछन् साथै मित्र शक्ति र दाजुभाइबाट पनि लाभ हुनेछ । गृहिणीहरूका लागि मान्यजन र ठुलाबडाको सामीप्यता मिल्ने र स्वागत सत्कार गर्ने समय छ । माइतीघरमा कुनै उत्सव र भेटघाटको माहौल बन्न सक्छ । पञ्चमेश मङ्गलले राहुसँग युत सम्बन्ध बनाएर छैटौँ भावको यात्रा गर्दै छ, अतः विद्यार्थीहरूका लागि यो महिना विविध चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो । व्यवसायीहरूका निमित्त यो महिना घरायसी सुख सुविधा बढाउन र चल अचल सम्पत्ति आदिमा खर्च बढ्ने समय छ, साथै बन्द व्यापारको विकास र विस्तारमा पनि धन व्यय हुनेछ । यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २८, २९ र ३० गतेको चन्द्रमा कमजोर रहेकाले ती दिन सतर्क र संयम हुनु उचित हुनेछ । ग्रहजन्य अशुभता निवारण होस् र महिनाभरि आफूले शुभफलमात्र प्राप्त गर्न सकियोस् भनी तपाईँले बाह्रौँ भावको केतुको शान्तिका लागि कुनै मङ्गलवार वा बिहीबारका दिन गच्छेअनुसार कुनै गुलियो पक्वान्न कुनै वृद्ध जोगीलाई वा माता दुर्गाको शक्ति पीठमा दान दिनुपर्छ ।

मकर : तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस गोचरको प्रभावले तपाईँमा आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्र शक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिनदिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रुचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । मित्र सक्तीबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न पाइने छ । जीवन साथीसँगको सम्बन्ध सामान्य नै रहने छ । प्रेम भावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठिक हुन्छ । तर भाइबहिनीसँग मनमुटाब हुन सक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामञ्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति हुनसक्छ । त्यसैले नजिकका आफन्तहरू, नोकरचाकर र अनुयायी वा शिष्यहरूदेखि सतर्क बसेको राम्रो हो । लक्ष्य प्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहु प्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुन सक्छन् । आकस्मिक रूपमा धनप्राप्तको सम्भावना समेत छ । उता राशि स्वामी शनिश्चरले तपाईँको आफ्नै राशिको भ्रमण गरिरहेको समय छ, यसको प्रभावले समस्त इच्छा र आकाङ्क्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र उद्यम सुरु हुनेछ । मित्र वर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । दशमेश शुक्रले यो महिना दोस्रोदेखि चतुर्थ भावसम्मको यात्रा गर्नेछ, त्यसैले श्रमिक तथा कर्मचारीका लागि दीर्घ प्रयोजनका लागि सम्पत्ति जोड्ने विचार छ भने यो महिना गरेको लगानीले फाइदा दिलाउने छ, कमाइ व्यवस्थापन गर्ने समय हो । गृहिणीहरूका लागि पतिको वा परिवारका सदस्यको पेसागत वा व्यावसायिक उन्नतिको खबर सुन्न पाइने छ । कुनै सानोतिनो भोजभतेरमा सहभागी हुने समय छ । विद्यार्थीहरूका लागि यो महिना प्रतियोगिता, प्रदर्शन वा परीक्षाको तैयारी गर्ने छात्रछात्राका लागि अनुकूल समय छ । व्यवसायीहरूका निमित्त सञ्चार क्षेत्र, वित्तीय कारोबार र ट्राभेल एजेन्सी जस्ता फुटकर र साना व्यवसायीले राम्रो लाभ पाउने समय देखिन्छ । यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२, २३, ३० र ३१ गते व्यवहारिक समस्या र तनाव उत्पन्न हुने कमजोर दिन रहने छन् । यो महिना शुभ फल प्राप्त गर्ने उपायका निमित्त तपाईँले राशि स्वामी शनिश्चरको प्रियताका लागि दिनैपिच्छे काग, गिद्ध वा कुकुरलाई खानेकुरा प्रदान गर्ने एवं छोराछोरी, नोकरचाकर वा भाइबहिनीलाई मिश्री, चकलेट आदि गुलियो पदार्थ बाँड्ने बानी विकसित गर्नुपर्दछ ।

कुम्भ : तपाईँको राशिबाट सूर्यदेवले दोस्रो भावमा रहेको धन स्थानमा प्रवेश गर्दै छन् । अब कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नामरसुनाम चल्ने र साख बढ्ने सङ्केत छ । यो धन वृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । धन सम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले शिक्षार्थीहरूले राम्रो नतिजा प्राप्त गर्नेछन् । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोकझोक चलिरहन्छ, तर प्रेम सम्बन्ध झन् प्रगाढ बन्दै जानेछ । बन्द व्यापार र पेसागत जीवनमा पनि शुभ फल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । समग्रमा सूर्यको यस गोचरको प्रभाव सन्तोषप्रद नै रहे पनि दोस्रो भावमा बसेका क्रूर ग्रहले केही अशुभ परिणाम पनि प्रदान गर्दछन्, जस्तै, दोस्रो भाव भनेको मुख पनि हो । बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । यसै अवधिमा आवेग, क्रोध र अहङ्कार पनि बढ्ने खतरा छ, अतः प्रकृतिमा अलि कडापन र कठोरता देखा पर्न सक्छ । शारीरिक तनाव र बोझलाई झेल्न सक्ने सामर्थ्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशा पना देखिने सम्भावना हुन्छ, सचेत हुनुपर्छ । राशि स्वामी शनिश्चरको समेत बाह्रौँ भावको यात्राको समय चल्दैछ, त्यसैले यो आफ्नो कर्तव्य र उद्देश्य बिर्सिएर बरालिने अवस्था हो । घमन्ड र अहङ्कार हाबी हुने तथा विवाद र तनाव बढ्ने परिस्थिति बन्न सक्छ । व्यवहारिक हानि र नोक्सानीको समय भएकाले बजेट सन्तुलित बनाउन प्रयास गर्ने तथा ताल साँचो बलियो बनाउने समय हो । आपसी सम्बन्धमा जिम्मेवार बन्ने प्रयास गर्नुहोला । दशम भावको मालिक मङ्गलले चतुर्थ भावमा बसेर आफ्नो घरलाई पूर्ण दृष्टिले हेरेको हुँदा यो महिना श्रमिक तथा कर्मचारीले कडा मिहिनेत गर्ने समय छ, निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने समय छ । सप्तमेश समेत सूर्य नै हो र यसले दोस्रो भावमा उपस्थिति जनाएकाले गृहिणीहरूका लागि अनपेक्षित विवादमा फस्ने योग छ । यो महिना कुरा काट्ने शत्रुसित सतर्क रहने समय हो । विद्यार्थीहरूका लागि अरूले के गर्दै छन् र के सोच्दै छन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाउने समय हो । व्यवसायीहरूका निमित्त यो महिना फलफूल, तरकारी, किराना र दुग्धजन्य कारोबारीहरूले सफलता पाउने समय हो । तर कार्यक्षेत्रमा समय दिने फुर्सद पाइँदैन, लोकप्रियताका लागि धन खर्च हुनेछ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १५, १६, २३, २४ र २५ गते तपाईँका लागि अशुभ रहने छन् । कुनै पनि अशुभ फल प्राप्त नहोस् र शुभ फलमा वृद्धि होस् भन्ने उद्देश्यले तपाईँले राशि स्वामी शनिदेवको उपासना गर्नु बुद्धिमानी ठहरिने छ, यसका लागि तपाईँले शनिवारका दिन कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नुपर्दछ वा खान दिनुपर्छ ।

मीन : तपाईँको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदै छ । अब पेसा, व्यवसाय, रोजगारी आदि क्षेत्रमा केही राम्रा र शुभ अवसरहरू प्राप्त हुनेछन् । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकाङ्क्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ । तपाईँ सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईँलाई फाइदा हुनेछ । यस समयमा तपाईँ मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईँ भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा वृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथ सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबुत नै रहने छ । यस अवधिमा धन सम्पत्ति र सुख सुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईँको हात चुम्नेछन् । यस अवधिमा तपाईँभित्र अहङ्कार र आडम्बरको भावना विकसित हुनसक्छ । स्वास्थ्यस्थितमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । यो महिना राशि स्वामी बृहस्पतिले एघारौँ र बाह्रौँ घरको भ्रमण गर्नेछ । त्यसैले महिनाको पूर्वार्द्ध उत्साहपूर्ण रहने छ भने उत्तरार्द्धमा खर्चको मात्रामा वृद्धि हुने तथा बजेट डगमगाउने समय छ । विदेश यात्रा हुने अथवा दूर दराजमा रहेको स्थानबाट शुभ समाचार प्राप्त हुनेछ । विदेशमा बसेका व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । दशमेश र लग्ने दुवै ग्रह बृहस्पति हो, अतः यो महिना श्रमिक तथा कर्मचारीका लागि कार्यालयभन्दा बाहिरको काममा बढी दौडधुप गर्नुपर्ने परिस्थिति बन्न सक्छ । जिम्मेवारीप्रति हेलचक्र्याइँ नगर्नु होला, नत्र पुराना समस्या बल्झिएर दुःख पाइने छ । गृहिणीहरूका लागि सुख सुविधाका सामाग्रीप्रति आकर्षण बढ्ने समय छ । मुख र घाँटीमा सामान्य स्वास्थ्य समस्या देखिन सक्छ । विद्यार्थीहरूका लागि उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, महिनाको अन्त्यतिर प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदै हुनुहुन्छ भने अझ बढी मिहिनेछ गर्नुपर्ने हुन्छ । व्यवसायीहरूका निमित्त आम्दानीका मार्गहरू बढ्ने छन् र कुनै सरकारी वा राजनैतिक काम गर्न अनुकूल समय छ । तामा र रातो चिजबीजसँग सम्बद्ध कारोबारीले सफलता पाउने समय हो । चन्द्रगोचरका आधारमा यस महिनाको ०८, ०९, १०, १७, १८, २५, २६ र २७ गते तपाईँका लागि कमजोर साबित हुने दिन हुन्, अतः सचेत रहनु होला । चैत्र महिनामा कुनै पनि अशुभ फल प्राप्त नहोस् भन्ने उद्देश्यले यसै महिना बाह्रौँ भावमा प्रवेश गर्ने बृहस्पति ग्रहको प्रियताका निमित्त १६ गतेपछिको कुनै बिहीबारका दिन पितृसूक्त, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता वा विष्णुसहस्रनाम स्तोत्रको पाठ गर्नुपर्छ अथवा गाई, गरीबगुरुबा, ब्राह्मण र बृद्धबृद्धाको सेवा गर्नुपर्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ