arrow

भारतको साढे ३१ करोडको अनुदानमा बन्न लागेको त्रिविवि केन्द्रीय पुस्तकालयको भूमिपूजन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
nepal-india-education-tu-library.jpg

काठमाडौं । भारतको साढे ३१ करोडरुपैयाँ बढीको अनुदान सहयोगमा बन्ने लागेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको निर्माणका लागि आज भूमिपूजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा भूमिपूजन गरेका हुन् । 

सो समारोहमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाई लगायत अन्य सरोकारवालाको उपस्थिति थियो । उक्त परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ । 

३१ करोड ६९ लाख रुपैयाँको लागतमा नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप यस पुस्तकालयको निर्माण हुने भारतीय दूतावासले विज्ञप्ति जारी गरी जनाएको छ ।  यसरी निर्माण हुने नयाँ तीन तल्ले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् ।  

कार्यक्रममा बोल्दै राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताए ।  उनले नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने बताए । 

मन्त्री पौडेलले नेपालको शैक्षिक पूर्वाधार विकासमा भारत सरकारले गरेको सहयोगका लागि आभार प्रकट गरे । 

भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । २०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको थियो । 

सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ । हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ । 

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको हो । 

त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ