arrow

मेलम्चीको ठेक्का पाएको चिनियाँ कम्पनीले पुनर्निर्माणको कामै गर्न सकेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
melamchi--water-supply.png
फाइल तस्बिर

काठमाडौँ। सरकारले चैतभित्रै काठमाडौँ बासीलाई मेलम्चीको पानी खुवाउने गरी तयारी थालेको भए पनि निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले भने काम नै गर्न सकेको छैन। चिनियाँ कम्पनीले काम नै गर्न नसकेपछि मेलम्ची खानेपानी परियोजनाले सरकारलाई गुहारेको छ।

परियोजनाका प्रवक्ता राजेन्द्रकुमार पन्तले परियोजना पुनर्निर्माण स्थलमा रहेका ठुला ढुङ्गाहरू, माटो हटाएर साइट क्लियर गर्न नसकेको बताएका हुन्। उनले चिनियाँ कम्पनी सिनो हाइड्रोको काम नलाग्ने उपकरणका कारण उक्त काम रोकिएको जानकारी दिएका हुन्। 

यसअघि मेलम्चीको बाँकी काम गर्नका लागि नेपाल सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ३२ करोड रुपैयाँमा सम्झौता गरेको थियो। तर, उक्त कम्पनीले बाँकी काम भने गर्न नसकेपछि सरकारलाई गुहारिएको हो।

गत माघ दोस्रो साता सिनो हाइड्रोले दिन गन्तीमा काम गरेर चैत मसान्तभित्र सक्ने योजनासहित काम सुरु गरेको थियो। चिनियाँ कम्पनीले उल्टै फागुन २५ सम्म ६० प्रतिशत काम सकेको दाबी गर्दै अब रकम उपलब्ध गराउनुपर्ने माग गरेको छ। 

सरकारले गत पुस अन्तिम साता मेलम्चीको पुन:निर्माणको काम फास्ट ट्याकमा निर्माण गर्ने निर्णय गरेको थियो ।

सिने हाइड्रोले पेस्की रकम नपाएको भन्दै काममा अवरोध गरेको छ। परीक्षणका लागि समेत समय नदिएर असारमा उद्घाटनको हतारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सुरुङभित्र छिर्ने ढोका बनाउँदा उल्टो ढोका लगाइएको थियो। प्राविधिकहरूका अनुसार पानी भएको साइडतिर ढोका खुल्ने गराउनुपर्नेमा उल्टो ढोका हालेर पानी छोडिएको थियो ।

विकास समितिका पदाधिकारीको गल्तीको कारण क्षति पुगेको भन्दै सिने हाइड्रोले क्षतिपूर्ति माग गरेकोमा मूल्याङ्कन नै नगराई ३० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरिएको थियो। तर, पछि मूल्याङ्कन समितिले अधिकतम २४ प्रतिशतभन्दा बढी रकम दिन नमिल्ने बताएपछि यो विषय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हेरेको छ।

६ प्रतिशत रकम (१ करोड ५२ लाख रुपैयाँ) गैर कानुनी भएको भन्दै भुक्तानी गर्न समितिले नमानेपछि अहिले समस्या सिर्जना भएको हो।  तत्कालीन कार्यकारी निर्देशक सरुवा भएर मन्त्रालय पुगेका छन् भने अहिले आएका कार्यकारी निर्देशक वासुदेव पौडेलले पुरानो विवादित पैसा उपलब्ध गराउन नसकिने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ