सुदूरपश्चिममा कांग्रेस एक्लैले बहुमत ल्याउँछ, कार्यकर्ताले रुखमा बाहेक अन्त भोट हाल्दैनन् – बलायर
प्रकाश बम,
प्रकाशित २०७८ चैत ३ बिहिबार
330
Shares
डोटी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूवमन्त्री वीरबहादुर बलायरले बङ्करमा बस्ने कम्युनिष्टहरु अहिले महलमा बिलासी जीवन बिताइरहेको आरोप लगाएका छन् । ‘जनताको रगत चुसेर मोटाएका कम्युनिष्टहरु अहिले जनताको घरदैलोमा भेटिदैनन्’ बलायरले भने, ‘जनताले तिरेको करको दुरुपयोग गर्दै आफू शानसँग बसिरहेका छन् ।’
नेपाली कांग्रेसको ‘घरघर जाऔं, कांग्रेसलाई जिताऔं’ अभियान अन्तर्गत डोटीको केआईसिंह गाउँपालिकामा आयोजना गरेको बृहत आम सभालाई सम्बोधन गर्दै उने उक्त अभिव्यक्ति दिएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका उखान टुक्का र कम्युनिष्टहरुको लुटका कारण देश संकटमा परेको बताउँदै सभापति बलायरले कम्युनिष्टहरुले राज्यको ढुकुटी रित्याएको बताए । ‘कांग्रेसले जम्मा गरेर राखेको देशको ढुकुटी कम्युनिष्टले लुकाए, लुटेर खाए र कार्यकर्ता पाले आज उनका नेता कार्यकर्ता विलासी जीवन बिताइरहेका छन् ।’
कम्युनिष्ट नेतृत्वको तीनै तहको सरकारले गरेको लुट, भ्रष्टाचारको पर्दाफास गर्नका लागि भए पनि कांग्रेसले चुनाव जित्नु पर्ने उनको भनाइ छ । ‘कम्युनिष्ट नेतृत्वमा भएका पालिकामा खातापाता, हिसाब किताब देखाइएको छैन’, ‘उनले भने, ‘लेखा परीक्षण गरिएको छैन ।, खातापातहरु खोतलेर हिसाब किताब माग्नको लागि पनि कांग्रेसले जित्नु पर्दछ ।’ प्रदेश सरकार कार्यकर्तामुखी सानातिना योजना बनाउँदै २०–२५ प्रतिशतमा योजना बेचिरहेको उनले बताए ।
आफूसँग डोटीलाई आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी लगायतका पक्षमा आमुल परिवर्तन ल्याउन सक्ने दश वर्षे मार्गचित्र रहेको उनले बताएका छन् । त्यसका लागि एक्लैले नहुने भएकाले सबैको साथ आवश्यक रहेको बलायरले बताए । उनले सबैलाई जनजीवनसँग जोडिएका कामहरुमा लाग्न आग्रह गरे । उनले दुई तिहाई पाएको कम्युनिष्ट सरकार देश चलाउन नालायक भयो र देश बचाउन कांग्रेसको आवश्यकता भएर अहिले कांग्रेस नेतृत्वमा रहेको बताए ।
कांग्रेसले जनमतको कदर गर्दै जनताले दिएको मत परिणाम सहर्ष स्वीकार गर्ने जनाउँदै उनले हारे पनि जिते पनि कांग्रेस जनताको घरघरमा आउन नछोड्ने बताए । बलायरले आउँदो निर्वाचनमा कांग्रेसको कुनै पार्टीसंग पनि गठबन्धन नहुने बताए । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस नरहेकाले आउँदो निर्वाचनमा पनि गठबन्धन नहुने बताएका हुन् ।
सुदूरपश्चिममा कांग्रेस एल्लै बहुमतले विजयी हुने दाबी गर्दै सभापति बलायरले अघिल्लो निर्वाचनमा बढी मत बदर भएका कारण हार बेहोर्नु परेको बताए । उनले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई सुझाव दिएका छन् ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनताहरुले कुनै पनि हालतमा आफ्नो चुनाव चिन्ह ‘रुख’ बाहेक अन्त मत हाल्न नसक्ने बलायरको भनाइ छ । उनले भने, ‘सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चुनाव चिन्ह बाहेक अन्त भोट हाल्दैन ।’ सम्बोधनका क्रममा उनले निर्वाचनमा कांग्रेस बाहेक अरु कसैलाई भोट हाल्न नपर्ने र कांग्रेस बहुमतले विजय हुनेमा विश्वस्त रहन नेता कार्यकर्तालाई अनुरोध गरे ।
त्यसैगरी आमसभामा बोल्दै केन्द्रिय प्रतिनिधि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले समेत नेपाली कांग्रेस आउँदो निर्वाचनमा कुनै पार्टीसँग गठबनधन नगर्ने बताए ।
उनले कांग्रेस एक्लै चुनाब लड्न सक्षम रहेकाले कसैसँग सहकार्य गर्नुपर्ने आवश्यक नरहेको बताए । एमसीसीका विषयमा कम्युनिष्टहरुले गलत भ्रम फैलाइरहेकाले सबै सचेत रहन गिरीले आग्रह गरे ।