arrow

नेकपा एसबाट मन्त्रीहरु फिर्ता बोलाइँदै, नयाँको रस्साकस्सी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
ncp-united-socialist-party-office.jpg

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले केही मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री हुन नपाएका सांसदलाई मन्त्रिपरिषद्मा पठाउने गृहकार्य थालेको छ । 

आधा कार्यकालका लागि मात्रै मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा मन्त्री हुन बाँकी सांसद र स्वतन्त्र नागरिकलाई मन्त्रिपरिषद्मा पठाउने तयारी थालेको हो । 

सांसदहरु मेटमणी चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कँुवर, निरादेवी जैरु,  लगायतका सांसदलाई मन्त्रीमा पठाउने तयारी गरेको हो । स्वतन्त्र नागरिकहरुमा कानूनविदद्वय युवराज संग्रौला वा गोविन्द बन्दीमध्ये एक जनालाई मन्त्रिपरिषद्मा पठाउने स्रोतको दाबी छ । 

उनीहरुले नमाने मात्रै पार्टीका अन्य नेताहरुलाई पठाउने स्रोतले जनाएको छ । मन्त्रिपरिषदमा रहेका नेताहरुलाई फिर्ता बोलाउने र त्यहाँ कसलाई पठाउने भन्ने बारेमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको स्रोतले जनाएको छ । 

‘क–कसलाई फिर्ता बोलाउने भन्ने बारेमा केही तय भएको छैन । जे हुन्छ सहमतिमै हुन्छ । अहिले त्यसको तयारी भएको छ’, एस पार्टीका एक नेताले भने । तर सरकारमा जानका लागि रस्साकस्सी चलिरहेको छ । 

गत साता बसेको सत्ता गठबन्धनको बैठकमा पनि यो विषय उठेको स्रोतको दाबी छ । एस पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउने बताएपछि अन्य पार्टीले पनि यो विषयमा सहमति जनाएका थिए । 

‘मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । एक हप्ता वा अर्को हप्ता यो विषयले पूर्णता पाउँछ’, ती नेताले भने । सरकारमा रहेका चारवटै पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउन लागेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यसअघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको भन्दै केही सांसदलाई थुम्थुम्याएर राखेका थिए । 

नेकपा एसबाट पर्यटनमन्त्री प्रेम आले र श्रम मन्त्री किसान श्रेष्ठलाई मात्र फिर्ता बोलाउँदा त्यसको सन्देश सकारात्मक नजाने भएकाले सबै मन्त्रीहरुलाई फिर्ता बोलाउन लागिएको हो । 

आले र श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट गएको तर ओलीसँग भेटघाट नभएको विषयले पनि पार्टीभित्र चर्चा पाएको बेला पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन लागिएको स्रोतको दाबी छ । 

स्थानीय तहको निर्वाचन तोकिएको र तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसभन्दा अगावै वा निर्वाचन आचारसंहिता लाग्नु अगावै मन्त्रिपरिषद पुनर्गठन हुने स्रोतको दाबी छ । 

‘गत हप्ता बसेको गठबन्धनको बैठकमा मन्त्रीमण्डल पुनर्गठनका बारेमा कुराकानी भएको छ । केही मन्त्रीहरुलाई पालो दिएर पार्टी काममा ल्याउनु पर्ने आवश्यकता देखियो’, एस पार्टीका एक वरिष्ठ नेताले भने । 

गठबन्धनको बैठकमा यो विषयले निकै बेर चर्चा पाएको र कुन मन्त्रीले के कस्तो काम गरिरहेका छन् भन्ने बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ । 

खासगरी नेकपा एसबाट गएका मन्त्रीलाई फिर्ता बोलाउने विषयमा चर्चा हुँदा मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने विषयले प्राथमिकता पाएको थियो । 

एस पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, भवानी खापुङ मन्त्री भएका छन् । एस पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्ने कुरा उठेको थियो । 

गत हप्ता सम्पन्न बैठकमा केही केन्द्रीय सदस्यहरुले सरकारमा सहभागी मन्त्रीहरुको काम सन्तोषजनक नभएको भन्दै पार्टीले फिर्ता बोलाउनु पर्ने आवाज उठाएका थिए । 

मन्त्रीहरूले पार्टीको पक्षमा काम गर्न नसकेको र पार्टीसँग समन्वय पनि नभएको गुनासो केन्द्रीय सदस्यहरूले गरेका थिए ।  

मन्त्रीहरूको कार्यशैली परम्परागत भएको, पार्टीले उठाएका विषय सम्बोधन गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको भन्दै केन्द्रीय कमिटीको बैठकमा प्रश्न उठेको थियो । 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको पनि कार्यकाल सकिँदैछ । यसअघि नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीबाट हटाउने बेलामा कांग्रेस र नेकपा एसबीच आधा आधा कार्यकाल मुख्यमन्त्री चलाउने सहमतिअनुसार नै पाण्डेले कुर्सी सम्हालेका थिए । अब बाँकी रहेको कार्यकाल कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलाई मूख्यमन्त्री हुनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ