arrow

नेपाल-भारत जोड्ने प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
india-nepal-line.JPG

काठमाडौं । नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया-सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ । रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्य लिई धमाधम काम भइरहेको छ ।

२८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ वटा टावरमध्ये ४४ वटाको जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । प्रसारण लाइनका उपकरणहरू आयोजनास्थलमा ल्याइसकिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका सञ्चालकहरू, कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माण स्थलको अनुगमन भ्रमण गरेको छ । टोलीले नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि यो लाइन महत्त्वपूर्ण रहेकोले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएको छ ।

नेपाल र भारतबीचका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति २०७५माघमा पोखरामा सम्पन्न छैटौँ बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा-मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि २०७६कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा (सम्पत्तिया,भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले अन्तर्देशीय विद्युत् व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको बताए ।

‘नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत् उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्त्वपूर्ण छ’, घिसिङले भने । ‘लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुने छ, यसबाट दुई मुलुकबीचको विद्युत् व्यापार थप सहज र विस्तार हुने छ ।’

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी रहेको छ । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा विन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ ।

भारतर्फ लाइन जोड्नका लागि सबस्टेसनमा दुई वटा बे र ३-४ वटा टावर निर्माण गर्नु पर्ने आयोजनाका प्रमुख हरि पाण्डेले बताए । उक्त कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको पाण्डेले उल्लेख गरे ।

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत रहेको छ ।

१८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ वटा टावरमध्ये ५५ वटा निर्माण सम्पन्न भएको छ । १० किलोमिटर तार टाङिएको छ । बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ । मैनहिया सबस्टेसनमा राखिने १३२-३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये १ वटाको जडान भइसकेको छ । 

बाँकी एउटा र ३३-११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ । प्रसारण लाइन र सबस्टेसन २ महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ