- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै पालिका र १३१ वटा वडामा चुनाव केन्द्रित राजनीतिक चहलपहल बढेको छ । दलका कार्यकर्ता दैनिकजसो केही न केही कार्यक्रम लिएर मतदाताको घर पुग्न थालेका हुन् ।
कांग्रेसले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नाराअघि सारेर घरदैलो अभियान सुरु गरेको छ । पार्टीले जिल्ला समिति, नगर र वडा समितिका सदस्यलाई गृह वडामा परिचालन गरेर चुनावी प्रचारको कामलाई तीव्र बनाएको जनाएको छ । विसं २०७४ को स्थानीय चुनावमा जिल्लाका अधिकांश पालिका गुमाएको कांग्रेस आगामी चुनावमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्य लिएर वडा तथा टोल केन्द्रित कार्यक्रम लिएर अघि बढेको छ ।
कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले टोलटोल पुगेका नेताले एमसिसी सम्झौताका बारेमा भ्रम र यथार्थ मतदातालाई जानकारी गराउन अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गर्न थालेको बताए । कांग्रेसको केन्द्रीय समितिले तयार गरेको एमसिसीबारेको पुस्तक टोलटोलमा वितरण भइरहेको उनले जानकारी दिए ।
उनले कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त, ऐतिहासिक पृष्ठभूमि साथै पालिका तहका पदाधिकारी टोल, नगरका पदाधिकारीलाई विधानले दिएको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण प्रदान गरिरहेको बताए । कांग्रेसले स्थानीय तहको निर्वाचन, प्रक्रिया पद्धति, मनोनयन विधि, बुथको सुरक्षा, सिलबन्दी, मुचुल्का तयार गर्दा पार्टीको भूमिका बारेमा कार्यकर्तालाई प्रशिक्षित गरिरहेको उनको भनाइ छ ।
सचिव हुमागाईंले जिल्लाका विभिन्न पालिकामा बुथको सुरक्षाका लागि स्वयंसेवक दस्ताहरु बनाइरहेको बताए । पार्टीको केन्द्रीय नीतिअनुसार नै जिल्लामा ‘एक बुथ १०० युथ’ भन्ने नारा नै तय गरेर युवालाई तालिम प्रदान गरिरहेको उनले जानकारी दिए ।