- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौ। नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो ।
मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे समकक्षीलाई जानकारी गराथिए। सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो ।
गत मङ्सिरमा काठमाडौँमा भएको नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि सो अवसरमा छलफल भएको थियो । नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो ।
कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो ।
भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र २४ घण्टे बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायत विषयमा पनि छलफल भएको बताइएको छ । प्रमुख श्रम गन्तव्यका रुपमा रहेको कतारमा तीन लाख बढी नेपाली श्रमिक कार्यरत रहेका छन् ।
मन्त्री मारीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए । भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालका साथै नेपाली दुतावासका अधिकारीहरू उपस्थित थिए भने कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीसमेत थिए । रासस