कतारले विदेशी एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र खुला गर्दै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
1.3k
Shares
तस्बिर फाइल
काठमाडौँ । कतारले मध्यपूर्वमा युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सका उडानहरूलाई आफ्नो मुख्य विमानस्थलमा अवतरणको अनुमति दिन सुरु गरेको छ। कतार नागरिक उड्डयन प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशी वायुसेवाका उडानहरू क्रमिक रूपमा पुनः सुरु गर्ने घोषणा गरेको हो।
गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि उत्पन्न तनावका बीच वासिङ्टन र तेहरानले दुई साताका लागि युद्धविरामको घोषणा गरेका थिए। सोही समयमा खाडी मुलुकहरू विरुद्ध इरानले सुरु गरेको प्रतिशोधात्मक ड्रोन र क्षेप्यास्त्र अभियानका कारण कतारले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो।
यसअघि मार्च ७ मा कतारले केवल आफ्नो राष्ट्रिय ध्वजावाहक कतार एयरवेजका लागि मात्र मार्ग प्रशस्त गर्दै सीमित र आंशिक रूपमा उडान खुला गरेको थियो। कतारी उड्डयन प्राधिकरणले स्थितिको विस्तृत मूल्याङ्कन गरेपछि विदेशी एयरलाइन्सका लागि पनि उडान पुनः खोल्ने निर्णय गरिएको बताएको छ। प्राधिकरणले यात्रु र उडानको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको समेत स्पष्ट पारेको छ।