- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न नबिल बैङ्कले पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) सँग साझेदारी गरेको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बीच नबिल बैङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरे।
वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरूको प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले यस सहकार्य महत्त्वपूर्ण हुने बताउँदै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने बताए।
त्यस्तै कार्यक्रममा टेवानका अध्यक्ष रेनु थापाले नबिल बैङ्कले टेवानलाई रोजेकोमा धन्यवाद दिँदै महिला व्यवसायीको प्रवर्धनमा बैङ्क सँग हातेमालो गर्दै सँगै अघि बढ्ने बताए। कार्यक्रममा केही महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरिएको थियो। कार्यक्रममा टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, नबिल बैङ्क एसएमई तथा लघुवित्त कर्जा प्रमुख नीरज कुमार बस्नेत (डनिल), दायित्व व्यवस्थापन, कर्पोरेट कम्युनिकेसन तथा सिएसआर प्रमुख कृष्ण सुवेदी, नबिल बैङ्क गण्डकी प्रदेश प्रमुख सूर्य बहादुर रोकाको उपस्थिति थियो।
टेवान पर्यटन व्यवसायमा संलग्न सबै सक्रिय महिला उद्यमीहरूलाई समूहबद्ध गर्ने र पर्यटन विकासको लागि लैङ्गिक समानता र महिला सशक्तीकरणलाई संस्थागत गर्न मद्दत गर्ने एक गैर–नाफामूलक सार्वजनिक सामाजिक संस्था हो जसमा कास्की जिल्लाका विभिन्न पर्यटन क्षेत्रका २ सयभन्दा बढी महिला उद्यमी आबद्ध रहेका छन्।
नबिल बैङ्क र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर–कोडः महिला र युवाका लागि नबिल बैङ्क डिजिटल प्रवर्द्धन” परियोजना अन्तर्गत बैङ्कले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ र यस परियोजना अन्तर्गत बैङ्कले देशभर कम्तीमा ७ वटा (एउटा प्रदेशमा न्यूनतम एउटा) वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।