arrow

भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूतलाई चेम्बरको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
chember-sharma.JPG

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन आकर्षण र लगानी मार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शङ्कर शर्मालाई सुझाव दिएको छ । भारतका लागि नवनियुक्त राजदूत शर्मासँग जमलस्थित चेम्बर भवनमा मङ्गलवार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो । 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए । मल्लले भने, ‘समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ । निर्यातको हिस्सा पनि सबैभन्दा धेरै भारतसँगै ७५ प्रतिशत छ । चालु आर्थिक वर्षको ८ महिनामै भारतसँग व्यापार घाटा ६ खर्व ७९ अर्ब रुपैयाँ पुगिसकेको छ । व्यापार घाटा कम गर्ने एक मात्रै विकल्प भारतीय लगानी मार्फत उत्पादन वृद्धि र पर्यटन आवागमन बढाउनु हो, ।’

सबै भन्दा नजिकको छिमेकी भारतमा रहेका १ अर्ब ३८ करोड जनसङ्ख्याको शून्य दशमलव २५ प्रतिशत जनसङ्ख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाइदा लिन सक्ने अध्यक्ष मल्लको भनाई छ । मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आकर्षित गर्न सके धरै फाइदा लिन सकिने अध्यक्ष मल्लले बताए ।

राजदूत शर्मासँग अध्यक्ष मल्लले निर्यात सहजीकरण गरिदिन पनि आग्रह गरे । उच्चस्तरीय क्वारेनटिन ल्याब भन्सारमा नहुँदा भारतबाट आयात निर्यात हुने वस्तुहरूको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष मल्लले राजदूत शर्माको ध्यानाकर्षण गराए ।

चेम्बरका पदाधिकारीले विशाखापट्नम बन्दरगाह, उडिसाको धर्मा पोर्ट तथा गुजरातको मुन्द्रा पोर्डमा नेपाली व्यवसायीले अनावश्यक दुःख पाइरहेको गुनासो गरेका थिए । नेपाली सामान बोकेका कन्टेनरहरू लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजीकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरेका थिए ।

जवाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टीन ल्याब स्थापनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफुले पहल गर्ने राजदूत शर्माको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ