arrow

तीन खम्बे नीति मार्फत कृषिमा सहकार्य गर्न सरकारसंग चेम्बरको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
chemner-raye.PNG

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्तर्गत सरकारसंग सहकार्य गर्ने भएको छ । बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवसँग चेम्बरले आत्मनिर्भर कृषिका लागि सहकार्य गर्न प्रस्ताव गरेको हो । 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताए । कृषि प्रधान मुलुकमा वार्षिक ५० अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयत हुनु मुलुक कै लागि दुर्भाग्य भएको मल्लले बताए । आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफूल, घिउ तेल, चिनी समेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरि व्यापार घाटा बढेको अध्यक्ष मल्ले बताए । 

मल्लले भने, ‘सरकारले उपयुक्त लगानीको वातावरण बनाइदिने हो भने निजी क्षेत्र कृषिमा लगानी गर्न तयार छ । किसानको उत्पादन देखि बजारीकरण राज्यले साथ दिन आवश्यक छ । खेती किसानीमा लाग्ने कृषकलाई राज्यले सहुलियत ऋणसँगै अनुदानको व्यवस्था गर्न आवश्यक छ, ।’ 

कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिए पनि प्रभावकारी हुन नसकेको र सरकारसंग कृषि अनुदान लिएर जग्गाको कारोबार भइरहेको गुनासो बढेको अध्यक्ष मल्लको भनाई छ । ३० प्रतिशत बाँझो जमिनलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । चेम्बरले ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरूसँग सहकार्य मार्फत कृषि उत्पादन अभियान शुरु गरेको अध्यक्ष मल्लको भनाई छ । युवाहरूलाई व्यावसायिक खेती तर्फ आकर्षित गर्न चेम्बरले आवश्यक सबै समन्वय गर्ने समेत अध्यक्ष मल्लले बताए ।

कार्यक्रममा कृषि मन्त्री यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषक मैत्री वातावरण बनाउन सरकार लागि परेको बताए । कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षा अनुसारको काम हुन नसकेको मन्त्री यादवले बताए । कृषिमा तीन खम्वे अर्थनीतिका लागि आफुले पहल गरिरहेको र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि मन्त्रालयमा काम भइरहेको मन्त्री यादवको भनाई छ । 

कृषकले उत्पादन गरेका बस्तुहरूको उत्पादन भण्डारणदेखि बजारीकरण सम्मको व्यवस्था सरकारले गर्ने गरी तयारी भइरहेको जानकारी दिए । मन्त्री यादवले पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताए । 

इजरायलबाट फर्किएका युवाहरूले मन्त्री यादवसँग नेपालमा कृषि उत्पादनमा भोग्नु परेका समस्या सुनाएका थिए । उनीहरूले विदेशी प्रविधि तथा उन्नत जातको बिउ भित्र्याएर नेपालमा कृषि प्रवर्द्धन गर्न खोजे पनि नीतिगत झण्झटका कारण समस्या भएको गुनासो गरे । 

कार्यक्रममा इजरायलका लागि पूर्व राजदूत डा अन्जान शाक्यले इजरायलको कृषि प्रविधिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ