- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तनहुँको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरेकी छन् ।
तनहुँको बन्दीपुर गाउँपालिकाको गाउब्लकमा रहेका ४६ घरपरिवारलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समय भित्रै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितले जग्गाको लालपूर्जा पाउने गरी राष्ट्रिय भूमि आयोग मार्फत काम भइरहेको बताइन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमानदार भएर लाग्न आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, बेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरूका सन्तानलाई विशेष नापीको तालिम शुरु गर्न लागिएको पनि बताइन् ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवन, काठमाडौंको कीर्तिपुर नगरपालिका, र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई लालपूर्जा वितरण गरिसकेकी छन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार भन्दा बढी घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहीन बनिरहेकाहरूलाई लालपूर्जा वितरण अभियान तीव्र पारिएको छ ।