- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रभावशाली नेतृ डा आरजू राणा देउवाले आफू कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाटै संघीय निर्वाचन उम्मेदवार बन्ने बताएकी छिन् । २०७४ सालको निर्वाचनमा पनि कैलाली ५ बाट उठेकी देउवाले आज नेपाल प्रेस युनियन कैलाली शखाले आयोजना गरेको पत्रकार सम्मेलनमा फेरि पनि कैलाली ५ बाटै उम्मेदवारी दिने बताइन् ।
उनले भनिन्, ‘आफूले पहिले पनि यसै निर्वाचन क्षेत्रबाट चुनाव लडेको र यस क्षेत्रका जनताले मलाई २२ हजार मत पनि दिएका थिए । वाम गठबन्धनका बेला म एक्लै निवार्चनमा लड्दा पनि मलाइ जनताले राम्रो मत दिए । मतको आधारमा म पराजित हुनु लोकतान्त्रिक पद्धति भएकाले मलाई यस क्षेत्रका जनताको माया र सद्भाव रहेको छ ।’
उनले पार्टीले टिकेट दिए यसै क्षेत्रबाट आफूले चुनाव लड्ने पत्रकार सम्मेलनमार्फत बताइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको सरकारसमेत चलाउन नसक्दा शेरबहादुर देउवाले सबैलाई मिलाएर देश सही दिशामा अगाडि बढाएकोसमेत उनले बताइन् ।
‘जनताले दुई तिहाई दिएर सरकारको नेतृत्व दिएको थियो’ नेतृ देउवाले भनिन्, ‘‘जनताको मतको रक्षा गर्न नसक्दा अन्तिममा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आयो ।’
सबै विचारलाई मिलाउन सक्ने क्षमता भएर नै देशको कार्यभार कांग्रेसको काँधमा आएको उनले बताइन् । सबै विचारलाई समेटेर लैजाने खुबी कांग्रेसकै मात्र भएकाले धैर्य भएर अबको निर्वाचनमा एकजुट भइ जनमत सृजना गर्न डा देउवाले सबैलाई आग्रह गरिन् ।