नीतिगत आधारमा सुदूरपश्चिममा गठबन्धन हुँदैन – कांग्रेस सभापति बलायर
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७८ चैत १२ शनिबार
1.2k
Shares
दार्चुला । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले नीतिगत आधारमा सुदूरपश्चिममा गठबन्धन नहुने बताएका छन् । नेपाल प्रेस युनियन दार्चुला शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले मौजुदा परिस्थितिमा गठबन्धनको परिकल्पना नगरिएको जनाउँदै नीतिगत रुपमा सुदूरपश्चिममा गठबन्धन नहुने बताएका हुन् ।
उनले भने, ‘प्रदेश सरकारको बहुमतको काँचो सोचले गर्दा नै नीतिगत आधारमा गठबन्धन गर्न नहुने देखिएको छ, सरकारलाई कांग्रेसको समर्थन छ तर सरकारमा कांग्रेसको सहभागीता छैन ।’
प्रदेश सरकारले नेपाली कांग्रेससँग कुनै किसिमको संवाद नगरेको उनले बताए । समझदारीका साथ अगाडि बढ्यो भने आवश्यकताका आधारमा स्थानीय चुनावमा गठबन्धन गर्न सकिनेतर्फ सभापति बलायरको संकेत थियो ।
उनले दार्चुलाको उत्तरी चीनसँगको तिंकर नाका सञ्चालनका लागि पहल गर्ने आश्वासन दिए । शुक्रबार चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आएको अवसरमा यो विषयमा परराष्ट्रमन्त्रीसँग फोनमार्फत कुरा राख्ने वचन दिए ।