- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । फिडेमास्टर क्षितीज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जीत तथा दुईमा बराबरी गरेका क्षितीजले ६ अंक बनाउँदै नगद ५० हजार रुपैयाँसमेत प्राप्त गरे ।
पाँचौं तथा सातौं चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतीजा आत्मसात गरेका क्षितीजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवालमाथि जीत हात पारेका थिए । झापाका प्रकाश र धनकुटाका सुमन श्रेष्ठलाई टाईब्रेकरमा पछि पार्न सफल भएका क्यान्डिडेटमास्टर कृष्ण थापाले दोश्रो हुँदै २५ हजार नगद हात पारे । समान ५ दशमलब ५ अंक बनाएका प्रकाश तेश्रो र सुमन चौथो स्थानमा रहँदै क्रमशः १५ हजार र १० हजार नगद हात पार्न सफल रहे ।
फिडेमास्टर मनिष हमाल सात खेलबाट पाँच अंक बनाउँदै पाचौं स्थानमा रहेर १० हजार नगद प्राप्त गरे । त्यसैगरी समान पाँच अंक बनाएका फिडेमास्टर रुपेश जयसवाल, झापाका राजन सुवेदी र प्युठानका श्रीकृष्ण श्रेष्ठ क्रमशः छैटौं, सातौं र आठौं हुँदै सात–सात हजार नगद हासिल गरे ।
समान ४ दशमलब ५ अंक बनाएका झापाका सुश्रुत दाहाल नवौं र दोलखाका आशिष फुँयाल दशौं हुँदै सात–सात हजार नगद प्राप्त गरे । समान ४ दशमलब ५ अंक बनाउँदै धनुषाका शुसील चौधरी, तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, चितवनका सन्तोष गौतम, काठमाडौका पुरुषोतम सिलवाल र बाराका निर्मल सापकोटा क्रमशः एघारौं देखि पन्ध्रौं स्थानमा रही पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।
पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशी महिला खेलाडी मध्ये अब्बल हुँदै नगद ५ हजार प्राप्त गरिन भने रामेछापका बिमल सुवेदी अनरेटेडतर्फ पहिलो हुँदै ५ हजार नगद हात पारे । त्यसैगरी काठमाडौका विजय टमाटा (१०००–१२९९), रुपन्देहीका चमन गाहा मगर (१३००–१४९९), चितवनका जुनानाथ सापकोटा (१५००–१६९९) र मकवानपुरका बलराम संजेल (१७००–१८९९) रेटिङ क्याटागोरीतर्फ पहिलो हुँदै पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल लगायतले पुरस्कार वितरण गरे । हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सम्पन्न दुई दिने प्रतियोगितामा विभिन्न जिल्लाका ३ महिलासमेत ५२ जना खेलाडीको सहभागीता रहेको थियो ।