- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । खेलकुद क्षेत्रमा नेपालकै सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
राजधानीस्थित यलो पकोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार राशी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यसअघिको संस्करणमा पुरस्कार राशि ५ लाख रहेको थियो ।
२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं शहीद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूहको आधारमा प्रतियोगिता गर्दै आइरहेकामा तेश्रो संस्करणबाट प्रत्येक तौल समूहका विजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्मश्री विजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।
शारीरिक सुगठनको इतिहासमा नै अतिनै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ विधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स विधालाई थप गरिएकोसमेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
आगामी बैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल बैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजीतौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुको विचमा अन्तिम प्रतिस्पर्धा गराइ विजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिने छ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् ।
यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हाजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।