arrow

नुवाकोटका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
nuwakot-prathinidhi.PNG

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतको नेतृत्वमा आएको नुवाकोट जिल्लाको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र प्रस्तुत गरेको छ । प्रतिनिधि मण्डलले नुवाकोट जिल्लाको जल्दाबल्दा समस्याहरू तुरुन्त समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधि मण्डलका तर्फबाट डा.महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकोले जनजीवन कष्टकर भएको विषयलाई राखेका थिए । उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको बताएका थिए ।

ज्ञापन पत्रमा नुवाकोटको बन्चरे डाँडाको डम्पिङ साउटको व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ । स्थानीय बासिन्दाहरूले फोहररहित मानव बस्ती मानववस्तीरहित फोहर मैला व्यवस्थापन क्षेत्रको अवधारणा अनुरूप फोहर मैला व्यवस्थापन गर्न माग गर्दै आएका छन् ।

पूर्व मन्त्री समेत रहेका डा.महत ककनीमा नेपाली कांग्रेसले आयोजना गरेको गाउँ गाउँ जार्औ, नेपाली कांग्रेस जिताऔँ अभियान अन्तरगतको प्रशिक्षणमा सहभागी भएर फर्कँदा स्थानीयले फोहर मैला व्यवस्थापनको समस्या प्रधानमन्त्री समक्ष पुर्‍याइदिन अनुरोध गरेका थिए ।

यस्तै ज्ञापन पत्रमा नुवाकोटका विभिन्न दुर्गम गाँउपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधान गर्न पनि माग गरिएको छ ।

नुवाकोटको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरू तत्काल पूरा गर्नकालागि सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटका अवसरमा प्रवक्ता डा.महतका अतिरिक्त नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुर सिंह लामा, नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठ, जिल्ला भूमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपाने लगायत नगर समितिका अध्यक्षहरूले पनि समस्याका बारेमा प्रकाश पारेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ