- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेलिरहेको छ । पीएनजीले त्रिवि क्रिकेट मैदानमा दुई सय चार रनको कठिन चुनौती पछ्याइरहेको छ ।
पुपुवा न्यूगिनीले पहिलो ओभरमै विकेट गुमाएको छ । करण केसीले विकेट लिएका छन् । योसँगै करण टी–२० मा ५० विकेट पूरा गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि कप्तान सन्दीप लामिछानेले यो रेकर्ड बनाइसकेका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ६६ रनको अर्धशतकीय इनिङ खेले ।
रोहित पौडेलले २३ बलमा ४१, आसिफ शेखले २९ बलमा ३८, डेब्यु खेलाडी मोहम्मद आदिल आलमले ११ बलमा ३ छक्का र १ चौकाको मद्धतले ३१ तथा कुशल भुर्तेलले १७ रन जोडे ।
टी–२० मा ५० औं अन्तर्राष्ट्रिय खेल खेल खेलेको नेपाल पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ । श्रृंखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।
मलेसिया २ खेलमा १ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनलमा खेल्नेछन् ।