- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट श्रृंखलामा नेपाल सतप्रतिशत जितसहित फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेसँगै नेपाल फाइनलमा पुगेको हो ।
नेपालको जितसँगै पपुवा न्युगिनी (पीएनजी) पनि नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सोमबार नेपाल र पीएनजीबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९. ओभरमा सबै विकेट गुमाएर एक सय ३८ रनमात्रै बनाउन सक्यो ।
हारसँगै मलेसिया फाइनल पुग्न सकेन । यो खेल जितेको खण्डमा मलेसिया फाइनल पुग्ने थियो । मलेसियाको ब्याटिङमा ओपनर विरन्दीप सिंहले सर्वाधिक ४७ रन बनाए । यसबाहेक कप्तान अहमद फैजले ३३, ऐनोल हाफिज र सेद अजिजले समान १७ रन जोडे ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १९ रन खर्चिए ।
यस्तै, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेल र रोहितकुमार पौडेलले एक एक विकेट लिए । यसअघि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले मलेसियासामु दुई सय २४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
टस हारेर ब्याटिङमा आएको नेपालबाट निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय २३ रनको योगफल तयार गरेको थियो । नेपालको ब्याटिङमा दीपेन्द्रले सर्वाधिक एक सय १० रनको अविजित इनिङ्स खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । उनले ५५ बलमा शतक पूरा गरेका थिए ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पहिलो तथा नेपालको चौथो शतक हो । यस्तै, रोहितकुमार पौडेलले अर्धशतक बनाएका थिए । उनी ३४ बलमा ५१ रन बनाएर आउट भए । रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।
यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रन बनाएर आउट भएका थिए । यसबाहेक आरिफ शेख दुई रनमा आउट हुँदा आदिल अन्सारीले १४ रन बनाए ।
मलेसियाका मुहम्मद वफिक, पवनदीप सिंह, स्यार्जुल इद्रुस र मुहम्मद अमिरले समान एक विकेट लिए । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा पीएनजीलाई ३७ रनले पराजित गरेको थियो ।