arrow

उपाधि भिडन्त : टस जितेर फिल्डिङमा पीएनजी, नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
nepal-t20-cricket-png.jpg

काठमाडौं ।  त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ । समाचार तयार पार्दा सम्ममा नेपालले १० ओभरमा २ विकेटको क्षतिमा ७७ रन बनाएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित शृङ्खलामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले चार वटै खेलमा जित निकाल्दै आठ अङ्क जोडेको थियो । 

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने तेस्रो खेलमा पपुवा न्युगिनीलाई ३७ रनले तथा चौथो खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको थियो । 

यस्तै पपुवा न्युगिनी र मलेसिया दुवैले चार खेलमध्ये एकमा जित तथा तीनमा हार ब्येहोरेका थिए । पपुवा न्युगिनी रनरेटमा मलेसियालाई उछिन्दै श्रङ्खलाको फाइनलमा प्रवेश गरेको हो । 

नेपाल पपुवा न्युगिनीलाई पराजित गर्दै एक दिवसीय श्रङ्खलाको बदला लिन चाहन्छ । यसअघि पपुवा न्युगिनीले कीर्तिपुर मैदानमै सम्पन्न दुई खेलको एक दिवसीय श्रङ्खला २-० ले जितेको थियो । नेपालले पहिलो एक दिवसीय खेल ६ रनले तथा दोस्रो एक दिवसीय खेल तीन विकेटले गुमाएको थियो । 

आइतबार ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेल दबावविना खेल्ने बताएका थिए । उनको कप्तानीमा नेपाल पहिलो पटक शृङ्खलाको फाइनलमा पुगेको हो । चार वटै खेलमा जित निकालेका कारण आफ्नो टोलीको मनोबल उच्च रहेको लामिछानेले बताए । 

यस्तै पपुवा न्युगिनीका कप्तान असद भालाले नेपालविरुद्धको फाइनल खेलमा आफ्नो टोली दबाबमा रहने बताए । एक दिवसीय खेलमा टोली अभ्यस्त रहे पनि टी-२० खेलका लागि भने त्यति धेरै अभ्यास गर्न नपाएको उनको भनाइ थियो । टी-२० मा नेपाल र पपुवा न्युगिनीबीच हालसम्म तीन खेलमा प्रतिस्पर्धा भएको छ । नेपाल दुई तथा पपुवा न्युगिनी एउटा खेलमा विजयी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ