- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिडिरहेका छन् ।
उपाधिका लागि पीएनजीले १६९ रनको चुनौती पछ्याइरहेको छ । खेलमा टस हरोर पहिले ब्याटिङ्ग गरेको नेपालले ६ विकेटको क्षतिमा १६८ रन बनाएको छ ।
दिपेन्द्र सिंह ऐरीले ३८ बलमा अविजित रहँदै ५४ रन बनाएका छन् । त्यस्तै करण केसीले १२ बलमा अविजित रहँदै ३३ रन बनाएका छन् । आसिफ शेखले २९ बलमा २९ तथा कुशल भुर्तेलले २२ बलमा २५ रन बनाएका छन् । मोहम्मद आदिल आलमले १५ बलमा १५ रन बनाएका छन् ।
सेमो कामेअले ३ विकेट लिए । नेपाल जारी श्रृंखलामा अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेलिरहेको हो ।
नेपालले तेस्रो टिम मलेसियालाई र पीएनजीलाई दुवै खेलमा हराएको थियो । मलेसिया र पीएनजीले एक एक खेल जितेकामा रन रेटका आधारमा पीएनजीले उपाधिका लागि फाइनल खेल्ने अवसर पाएको हो ।
यसअघि भएको एक दिवसीय श्रृंखलाका दुवै खेलमा पराजित भएर घरेलु मैदानमै आईसीसी वरीयतासमेत घटाएको नेपालले आजको खेल जितेर टी–२० श्रृंखला जित्दै बदला लिन चाहन्छ ।
तर पीएनजी भने सरप्राइज जित निकाल्दै नेपाललाई फेरि पनि स्तब्ध पार्न चाहन्छ ।
कप्तान सन्दीप लामिछानेले टी–२० मा विभिन्न परीक्षण गरेकाले फाइनल खेल भने जित्नकै लागि खेल्ने यसअघि नै बताइसकेका छन् ।