- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धरान । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरू वीच चुनावी गठबन्धनको गृहकार्य भइरहेको वेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले चुनावी गठबन्धन खाए खा नखाए घिच नहुने बताएका छन् ।
नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको वृहत् प्रशिक्षण तथा घरघर जाऔँ कांग्रेस जिताऔँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताएका हुन् । उनले १ नं. क्षेत्रीय समितिले वडा वडामा कार्यक्रम गर्दे अत्यावश्यक प्रशिक्षण कार्यक्रमहरु गर्दै पार्टीको सशक्तीकरण गरेको बताउँदै सुनसरी क्षेत्र नं. १ ले छिट्टै मन्त्री पाउने पनि खुलासा गरेका छन् ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको इतिहास र सैद्धान्तिक प्रारूपका विषयमा प्रशिक्षण दिएका थिए ।
सङ्घीय सांसद मीना सुब्बाले एमालेको दम्भ र दादागिरीले डुब्न लागेको हाम्रो देशलाई पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बचाउने काम भइरहेको बताइन् । प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा महिलालाई पनि प्राथमिकता दिनुपर्ने बताए ।
प्रदेश महामन्त्री उमेश थापाले एमसीसी नेपालको विकास र समृद्धिको पक्षमा ऐतिहासिक कदम भएको भन्दै खोक्रो राष्ट्रवादी कम्युनिष्टहरुले विभिन्न भ्रम फैलाएर तुहाउन खोजे पनि हाम्रो पार्टीको समझदारीपूर्ण भूमिकाले सफल भएको बताए ।
जिल्ला सभापति केदार भण्डारीले क्षेत्रीय समितिले गरेको राजनीतिक र साङ्गठनिक गतिविधिले क्षेत्र भरी कांग्रेसको सङ्गठन मजबुत बनेको र जनमत सिर्जना भएको बताउँदै स्थानीय तहको निर्वाचनमा आकाङ्क्षीहरू मध्येका उत्कृष्टले टिकट पाउने बताए ।
कार्यक्रममा जिल्ला उपसभापति नगेशचन्द्र राई, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय उपसभापति तथा प्रदेशसभा १(२) का सभापति मुरारी भट्टराई लगायतले मन्तव्य राखेका थिए ।