- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पाराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा २० औँ नेपाल खुला पाराग्लाइडिङ प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका-१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले पारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पुर्याउने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात पाराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम श्रृंखला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिने पाराग्लाइडिङले पोखराको पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताए ।
उनले कोभिड-१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित पाराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै प्रतियोगितालगायत प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने खाँचो औंल्याए ।
प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ खेलाडीबीच प्रतिस्पर्धा भएको र आज बाँकी खेलबीच प्रतिस्पर्धा हुने संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ७७ प्रतियोगी छन् ।
त्यसमा आठ महिला पाइलट रहेका छन् । प्रतियोगिताको अन्तिम दिन यही चैत २५ गते विभिन्न सांस्कृतिक वेषभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत हुने उनको भनाइ छ ।
पोखरामा व्यावसायिकरुपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको ना अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले कोभिड-१९ का कारण दुई वर्ष प्रतियोगिता स्थगित भएको जनाउँदै यस प्रतियोगिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिता नेपाल पाराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल पाराग्लाइडिङ पाइलट क्लबको सहयोग र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवर्द्धन गरेको हो । उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुनेछ ।