arrow

‘युद्ध त्यागौं बुद्ध रोजौं’ शान्तिको कामना गर्दै बसन्तपुरमा कला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
peace-peace.jpg

काठमाडौं । विश्व शान्तिको कामना गर्दै शनिबार बसन्तपुर दरबार स्क्वायरमा कला प्रदर्शनी हुने भएको छ । स्वतन्त्र सृजनशील कलाकाहरुको पहल र सहभागीतामा बिहान ११ः३० बजेदेखि कार्यक्रम आयोजना हुन लागेको कार्यक्रम संयोजक एवं कलाकार सुवास क्षितीज श्रेष्ठले जानकारी दिए । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का पूर्व कूलपति वरिष्ठ कलाकार किरण मानन्धरको प्रमुख आतिथ्य तथा वरिष्ठ कलाकार राधेश्याम मुल्मीको विशेष आतिथ्यमा ‘विश्व शान्ति कला कार्यक्रम–२०७८, काठमाडौं’ हुन लागेको हो । 

संयोजक श्रेष्ठले भने, ‘हाल विश्वका विभिन्न राष्ट्रहरुबीच चर्किरहेको विनाशकारी महायुद्धले विश्व मानवता र सिङ्गो ब्रम्हाण्डकै एकमात्र जीवनयुक्त ग्रह, हाम्रो घर पृथ्वीकै अस्तित्व के हुने भन्ने आशंका र भय विश्वव्यापीरुपमा मडारिइरहेको सन्दर्भमा युद्धरत कुनै पनि पक्षको पक्ष–विपक्षमा नभइ विशुद्ध विश्व शान्ति र मानवीय भाइचाराका निमित्त आफ्नो क्षेत्रबाट अपील गर्न यो शान्ति कला कार्यक्रमको आयोजना गरिएको हो ।’

उक्त कार्यक्रममा कलाकारहरु भेला भएर कलाकृति प्रत्यक्ष रुपमा बनाउने छन् । कसैले आफूले पहिले बनाएको कला पनि प्रस्तुत गर्न सक्नेछन् । 

संयोजक श्रेष्ठका अनुसार अतिथिहरुले कला कोरिसकेपछि ७०–८० कलाकारले बसन्तपुरका विभिन्न स्थानमा बसेर कला कोरेर प्रस्तुत गर्नेछन् । 

उनी भन्छन्, ‘सन्देश दिन यो भन्दा उत्तम विकल्प के हुन सक्छ र ।’ उनले आफूहरुको एक मात्र उद्धेश्य नै युद्ध रोकेर शान्ति नै शान्तिमात्र फैलाउनु रहेको बताए ।

यसअघि पनि आफूहरुले विभिन्न हिंसा र त्रास रोक्ने समय सन्दर्भ पारेर कार्यहरु गरेको उनले बताए । 

सन् २००६ को विश्वकपमा फ्रेन्च खेलाडी जिनेदिन जिदानमाथि भएको व्यवहार र टाउको ठोक्याउनेसम्मको गतिविधि मैदानमा भएपछि श्रेष्ठलगायतको पहलमा कलामार्फत नै फुटबललाई एक खेलको रुपमा मात्रै लिएर पक्ष विपक्षमा लागेर हिंसा नभड्काउन कामना गर्दै कला प्रस्तुत गरिएको थियो । 

त्यस्तै उनका अनुसार सन् २०१२ मा विश्व ध्वस्त हुँदैछ भनेर अफबाह फैलाइँदा जताततै अत्यास छाइरहेका बेलामा उनीहरुले कलामार्फत नै शान्त रहन आग्रह गरेका थिए । 

यसपालि पनि युद्ध त्यागौं बुद्ध रोजौं भन्दै कलामार्फत शान्तिमार्ग अपनाउन आग्रह गरिने उनले बताए । 

उनले सबैलाई सहभागी भएर कलाकारलाई हौसला बढाइ विश्व शान्तिको अपीलमा साथ दिन पनि आग्रह गरेका छन् । 

हाल रुसले युक्रेनमाथि आक्रमण गरेको ४५ दिन भइसकेको छ र यो युद्ध नरोकिए यसबाटै तेस्रो विश्वयुद्ध हुन सक्ने आँकलनसमेत भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ