arrow

सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
sailendra-khanal.jpg
फाइल तस्बिर

काठमाडौँ। सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले अवकाश पाएका छन्। चार वर्षे कार्यकाल पूरा गरेर महानिरीक्षक खनालले सोमबारबाट अवकाश पाएका हुन्। उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ।

खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए। उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुङ्गो लगाउन सकेको छैन।

सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ। हाल एआईजी रहेका दुई जनामध्येबाट सरकारले एक जनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ। २१ दिनका लागि नयाँ महानिरीक्षकमा एआईजी पुष्पराज केसी र रामशरण पौडलको दाबी छ। दुवै जना खनालकै ब्याच मेट हुन्। उमेर हदका कारण १९ वैशाखमा उनीहरूले अनिवार्य अवकाश पाउँदै छन्। त्यसपछि पुनः नयाँ नेतृत्व चयन गर्नुपर्ने छ।

नयाँ नेतृत्वका लागि बढुवा सिफारिस समितिले सिफारिस गर्नुपर्छ। सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयन गर्नेछ। तर, अहिलेसम्म बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन। लोकसेवा आयोगका अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव र गृह सचिव नेतृत्वमा रहने बढुवा समितिले महानिरीक्षक सिफारिस गर्छ।

२१ दिने कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। हालका डिआइजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम दौडमा छन्। अर्याल र पौडेल २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। गौतम भने २०५२ वैशाखमा नेपाली सेनाको सहायक सेनानीबाट आएका थिए। सशस्त्र प्रहरीको स्थापनासँगै उनीहरू २०५८ मा एकै पटक सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए।

हाल अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो वरीयतामा छन्। वरीयतामा चौथो नम्बरमा रहेका डिआइजी वंशीराज दाहाल पनि एआईजीको दौडमा छन्। सशस्त्र प्रहरी बलमा दुई जना मात्रै एआईजी रहने व्यवस्था छ।

अहिलेका डिआइजीमध्ये दुई जनालाई एआईजीमा नियुक्त गर्ने र उनीहरूमध्येबाट एक जनालाई आइजिपीमा नियुक्त गर्नुपर्ने हुन्छ। त्यसका लागि अहिलेदेखि नै प्रक्रिया थाल्नुपर्ने हुन्छ। तर, बढुवा सिफारिस समितिले त्यस्तो गर्न सकिरहेको छैन।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ। अर्कोतिर यही समयमा नेतृत्व परिवर्तन हुन गइरहेको छ। नेपाल प्रहरीमा भने हाल आठ जना एआइजीको दरबन्दी छ। तीन दरबन्दीबाट बढाएर आठ दरबन्दी पुर्‍याइएको थियो। सशस्त्र प्रहरीमा भने दुई जनाको मात्रै दरबन्दी छ। जसले गर्दा धेरै अधिकारीहरू डिआइजीबाटै घर फर्किनुपर्ने अवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ