arrow

नबिल बैङ्क र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

महिला उद्यमी तथा साना किसानहरूमा उद्यमशीलता विकास र वित्तीय पहुँच प्रवर्द्धन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
nabil-bank-MOU-heifer-international.jpg

काठमाडौँ। महिला उद्यमी तथा साना किसानहरूमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले नबिल बैङ्क लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ। उक्त सम्झौतामा नबिल बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा.महेन्द्रनाथ लोहनी, नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नबिल दिगो बैङ्किङका प्रबन्धक लीला प्रसाद ओझाको समेत उपस्थिति थियो।

कृषि अन्तर्गत तरकारी खेती तथा माछा पालन एवं पशुपालन सम्बन्धी क्षेत्रहरू जस्तै बाख्रा पालन, गाई पालनमा संलग्न महिला उद्यमी तथा साना किसानहरूलाई सहज ढङ्गले दिगो बैङ्किङ अन्तर्गतका कर्जा तथा वित्तीय साक्षरता प्रदान गराउन बैङ्क र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ। यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्याङ्कन र विकाशमा केन्द्रित गर्ने रहेको बैङ्कले जनाएको छ।

उक्त योजनामा हेफर इन्टरनेशनल नेपालका तर्फबाट सामाजिक उद्यमी, महिला सहकारी र विभिन्न स्थानका स्थानीय सरकार समेत आबद्ध रहेका छन्। महिला सहकारी वा स्थानीय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैङ्कसँग जोड्न सहज बनाउनेछन्।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैङ्किङ कार्यक्रमको सुरुवात गरेको हो। यो सम्झौता मार्फत नबिल बैङ्कले नबिल दिगो बैङ्किङका प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पुर्‍याउन सहयोग गर्ने आशा लिएको  बैङ्कको विज्ञप्तिमा उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ