arrow

वर्षैभर गोपनियतामा ख्याल गरे वृषलाई सफलता मिल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-brish-taurus.jpg

वृष राशि हुनेहरूको लागि वि.सं. २०७९ सालको पहिलो खण्ड संघर्षको बाबजुत कुलीन प्रख्याति बढ्ने छ । केही अल्झनको बाबजुत कुलमा विशेष कामको सम्पादन हुनेछ । र परिश्रमिक कार्यमा सफलता पनि मिल्ने छ । शिरोरोगलगायत स्वास्थ्य स्थितिमा सुधार आउने छ । विद्यार्थीहरूले भने अध्ययनमा साविकभन्दा बढी मेहनत गर्न सकेमात्रै इच्छित सफलता प्राप्त गर्न सकिने छ । 

कार्यक्षेत्र, व्यवसाय, राजनीति, समाजसेवा, पेशागत कार्य एवं नोकरी आदिमा ग्रहले धेरै सकारात्मक प्रभाव देखाउन अल्लि नसकिरहेको हुनाले सम्बन्धित पक्षमा साविकभन्दा बढी मेहनत गर्नुपर्ने छ । 

गरिएका कारोबार उल्टिन सक्ने भय पनि देखिएकोले काम भयो भनेर ढुक्क नपरिहालेको राम्रो हुनेछ । गोपनीयताको पनि ख्याल पुर्याउनु जरुरी देखिन्छ । विशेष महत्वपूर्ण काम कार्य एवं विषयमा सफलता पाउन सम्बन्धित ग्रहको उपचारका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । ठूलो महत्वाकांक्षाको कारण धन फस्ने र उठति हुन मुस्किल पर्ने भय छ । लुच्चाले धन खाइदिनसक्ने छन् । निकै होसियारी अपनाउनु होला ।

वर्षको मध्यतिरबाट अध्ययन अध्यापनमा सुधार आउने छ । विद्यार्थी भाइबहिनीहरूले राम्रो मेहनत गरेर उचित सफलता प्राप्त गर्न सक्नु हुनेछ । केही ग्रह–उपचारका उपायहरू अवलम्बन गरी अघि बढ्नाले केही विशेष महत्वपूर्ण व्यावसायिक आदि काममा सफलता पाउन सकिने छ । 

कुनै विशेष जागिर, उद्यम आदि पेशाकर्मको शुभारम्भ हुनेछ, भइरहेको नोकरी एवं पेशाकर्ममा पदोन्नति तथा स्तरोन्नति हुनजाने छ । नोकरीको पर्खाइमा रहेकाले जागिर पाउन सकिने छ । 

कर्मयोगीहरूलाई आकस्मिक विभिन्न खालका लाभ तथा उपलब्धि मिल्ने छ । कृषिजन्य पक्षमा पनि गोचरग्रहको प्रभाव तसै अनुकूल बढ्दै जानाले किसानलाई उपलब्धि वृद्धि हुनेछ । राजनीति समाजसेवा आदिमा पनि आंशिक सफलता मिल्ने देखिन्छ । 

सन्तानाभिलाषीहरूलाई सन्तानप्राप्ति हुनेछ, विदेश यात्राका अभिलाषीलाई समय अनुकूल बन्दै जानेछ । घरमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको आयोजना हुन सक्ने छ भने कुटुम्ब तथा पारिवारिक सदस्य बढ्ने छन् । 

विवाह योग्य युवायुवतीको लागि विवाहगाँठो कसिने सम्भावना अधिक रहेको छ । प्रेमपारखीहरूको लागि पनि सम्बन्ध प्रगाढ बन्दै जाने देखिन्छ । वर्षान्ततिर पशुचौपायामा हानी गर्ने गोचर ग्रह छन्, ख्याल पुर्याउनु होला । 

र पनि खोटीदोषी पशुबाट तसै फाइदा गर्न सकिने छ । यो समयमा गाडी घोडा आदि पक्षमा पनि गोचर ग्रहले त्यति साथ नदिनसक्ने छ । बाहन किन्नै परे पनि शुभ मुहूर्त पारेर मात्रै किन्नु होला । पारिवारिक समन्वयमा ह्रास आउनसक्ने छ । यो कुरा मनन् गरेर संयम नअपनाए अनावश्यक विवाद एवं किचलो पर्नेछ । 

पार्टनरसिपका कामकार्यहरू पनि प्रभावित हुने देखिन्छ । सकेसम्म पार्टनसिपमा बल नगरेको राम्रो हुनेछ । यी कुराहरूमा विचार पुर्याएर सम्बन्धित कार्य योजना तर्जुमा गर्नु बुद्धिमानी हुनेछ ।

ढाड कम्मरमा समस्या देखिन सक्नेछ, बाहिरी तथा आन्तरिक घाऊखटिरा, ज्वरो लगायतका स्वास्थ्य समस्याले पनि दुःख दिन सक्नेछन् । मधुमेह, उच्चरक्तचाप तथा हृदय रोग, दम आदिका दीर्घरोगीले विशेष सावधानी अपनाउनु उचित हुनेछ । यो वर्ष वृष राशि हुने व्यक्तिहरूले सेतो, मध्यम रातो र निलो तथा ध्वाँसे एवं खरानी रङ्गका वस्तुबाट फाइदा गर्न सकिने छ । 

यसैगरी १, २ र ६ नं.को प्रयोग विशेष फापकर हुने छ भने ३ र ८ नं. मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र नं.को प्रयोग गर्दा जन्म कुण्डलीको लग्नानुसार कारकत्त्व पनि विचार पुर्याउन भने जरुरी हुनेछ । महादशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरूलाई राशिफलमा बताइएका विपरीत फल बढी घटित हुनसक्ने हुन्छ तसर्थ सम्बन्धितहरूले बढी सावधानी अपनाउनु पर्ने हुन्छ । 

ग्रहगोचरको प्रतिकूलतालाई मनन् गरी सकारात्मक सोंचका साथमा निस्कामकर्म गर्ने, ध्यानधारणा तथा इष्टदेवको साधना बढाउने, महादशामा चलेका दशा अन्तर्दशाको शान्ति गर्ने र साथमा महावीर पवनपुत्र हनुमान र भैरवदेवको उपाशना गर्ने गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले शनि एवं राहुको वर्ष भरी नै र वर्षको मध्यसम्म गुरु बृहस्पतिको उपयुक्त उपाय अवलम्बन गर्नु फापकर हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ