arrow

राजनीतिमा आलोचनाबीच आंशिक सफलता हुने कर्कटको योग, यस्तो हुनेछ समग्रमा वर्ष २०७९

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-karkat-cancer.jpg

कर्कट राशि हुनेहरूको लागि २०७९ सालको वर्षको मध्यसम्म गुरु बृहस्पति, यसैगरी वर्षभरी नै शनि, राहु र केतु ग्रह विपरीत अवस्थामा रहेका छन् । ग्रह गोचरको यो स्थितिले यहाँलाई यो वर्ष शुरुमा आक्रोश एवं तनाव र दौडधूप बढाउने छ । भइसकेको कुनै कारोबार उल्टिएर वेचैनी दिनसक्ने छ । लुच्चो चरित्रको व्यक्तिको हातमा धन जाने र त्यसको उठतीको सुनिश्चितता नहुँदा त्यसले ठूलै मनोभय ल्याउने तथा मनोवैज्ञानिक असर हुनसक्ने छ, समयमै होसियारी अपनाउन सके बुद्धिमानी हुनेछ । 

पितृमातृ एवं मान्यजनलाई पिर्ने ग्रहगोचर छ । आफ्नै स्वास्थ्यमा पनि कष्ट हुने संकेतहरू प्रसस्तै देखिन्छ । पैतृक संपत्ति, साँधसीमा आदि विषयमा किचलो हुने, छरछिमेक तथा साँध सँधियार, साथी भाइबीच असमझदारी बढ्ने र पारिवारिक समझदारी कायम हुन नसक्ने जस्ता स्थितिको सामना गर्नुपर्ने छ । 

जग्गाजमीन तथा घरघडेरीको किनबेच आदिमा समेत सचेत हुन जरुरी छ । स्वास्थ्यमा ग्रन्थीलगायतका रोगले दुःख दिने छन् । चोटपटक दुर्घटना एवं घाऊखटिराको भय पनि देखिएकोले सावधानीपूर्वक संबन्धित कार्य सम्पादन गर्नु उचित हुनेछ ।

छलकपटजन्य व्यवहारमा फसाउने गोचर रहेकोले प्रेम तथा वैवाहिक सम्बन्धको बारेमा विचार पुर्याएर मात्रै अघि बढ्नु उचित हुनेछ । दाम्पत्य सम्बन्धमा कष्ट एवं शंका आशंका उब्जन सक्ने सम्भावना छ । 

इज्जत प्रतिष्ठामा आँच पुग्ने खालको अवैध तथा कैफियत आम्दानीतर्फ मन आकर्षित हुन सक्ने खतरा छ । निकै सावधानी र संयम अपनाउनु होला । पशुचौपाया, बरबाहन तथा गाडी आदि सवारीसाधन खरिदको लागि यो समय त्यति अनुकूल नदेखिएकोले सकेसम्म खरिद नगरेकै राम्रो हुनेछ ।

कथंकदाचिन खरिद गर्नैपर्ने छ भने वर्षको मध्योपरान्त तसै अनुकूल हुनेछ । महादशा अन्तर्दशा योगिनीदशामा प्रतिकूल दशा चल्नेहरूले विशेष सावधानी अपनाउन जरुरी देखिन्छ । कुसंगतको चक्रव्यूह नपर्ला भन्न सकिन्न । 

नहुने काममा मन जाने र नोक्सानी भइसकेपछि बल्ल होश खुल्नेछ । गुरुजन, मान्यनजको अर्ति नमान्दा पछि पछुतोमा परिने छ । जालसाँची तथा किर्तेकार्यमा फसाउन खोज्नेहरूको षड्यन्त्रमा फसिन सकिने छ होसियारी अपनाउनु होला । मुद्धामामिलाको भय पनि छ । ग्रहले ऋणवृद्धि गराउन खोज्दैछ, गरिने कामकार्यमा निकै विचार पुर्याएर गर्नु बुद्धिमानी हुनेछ ।

यस्तै, धर्माचरण एवं इष्टसाधनाको बलले कतिपय ग्रहगोचरजनित अनिष्ट फललाई टार्न पनि सकिने हुनाले उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ, जसबाट आकस्मिकरूपमा केही शुभफल पनि प्राप्त गर्न तथा अशुभफललाई घटाउन सकिने छ । 

वर्षको मध्यपछि विशेष कामको जमर्को हुने तर, गरिपुर्याउन कठिनपर्ने हुनेछ । सफलताको लागि जन्मकुण्डलीमा गुरु बृहस्पति कारक रहेको हकमा राम्रो खालको पुष्पराजको धारण गरी अघि बढ्नु बुद्धिमानी हुनेछ । 

जसबाट विद्या क्षेत्रमा केही सुधारको अपेक्षा गर्न सकिन्छ । अन्यपक्षमा पनि क्रमिक रूपमा केही सुधार भएर जानेछ, रोगीलाई उपचार लाग्न थाल्ने छ । ठूला अड्चनहरू हट्दै जाने छन् । 

व्यापार व्यवसाय एवं नोकरी आदि पेशागत क्षेत्रमा पदप्रतिष्ठा, आयआम्दानी बढेर जाने छ । विषयान्तरतिर लागेर समय खर्चनु भन्दा समयको सदुपयोग गरी कर्मयोगलाई महत्व दिए काम बनाउन र लाभ उठाउन सकिने छ । विशेष ठानिएको काममा भने अल्झन आउनसक्ने देखिएकोले ग्रह उपचारको उपाय अपनाउनु उचित हुनेछ ।

अध्ययनमा शिक्षण संस्था एवं विषय परिवर्तनको इच्छा हुने संभावना देखिएको छ । रोजगारीको लागि साविकभन्दा बढी नै उपाय गर्नुपर्ने देखिन्छ । राजनीति समाजसेवा आदिमा केही आलोचना तथा अपयशको बाबजुत आंशिक सफलता मिल्ने छ । 

अनिष्ट ग्रहफललाई हटाउन तथा शुभफललाई बढाउन कर्कट राशिले यो वर्ष भरीनै इष्टदेवको साथमा महावीर हनुमान एवं भैरवदेवको साथै वर्षको मध्यसम्म माँ बगलामुखी एवं विद्यार्थीले माँ सरस्वतीको स्तुति आराधना उपाशना अवलम्बन गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले शनि र राहु एवं केतुको वर्ष भरी र वर्षको मध्यसम्म गुरु बृहस्पतिको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ