arrow

कैफियत कर्ममा चेष्टा बढ्ने कन्याको योग, यस्तो हुनेछ समग्रमा वर्ष २०७९

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-kanya-virgo.jpg

कन्या राशिका लागि २०७९ सालको वर्ष पूर्वखण्डमा कामकार्य सम्पादन तथा जनव्यवहारमा सजग हुनु उचित हुनेछ । कैफियत कर्मतर्फ पनि चेष्टा बढ्न सक्ने र पछि पछुतो हुने भय पनि रहेकोले विशेष संयमित रहनु उचित हुनेछ । 

कामकार्यमा साविकभन्दा बढी संघर्ष उठाउनु पर्ने देखिन्छ । विपरीत ग्रहको उपाय एवं गुरुजनको आशिर्वाद लिएर अघि बढेको खण्डमा बढी जोड गरिएको काममा केही अवरोधको बाबजुत केही सफलता पनि प्राप्त गर्न सकिने छ । 

अत्यावश्यकभन्दा बढी साथसंगत तथा जनसंपर्कमा नरहेकै बुद्धिमानी हुनेछ । मुद्धामामिला आदिको सामना गर्नपर्ने र बढी सास्ती उठाएरमात्रै सफल भइने छ । महामारी आदि संक्रामक समस्याले स्वास्थ्यमा पनि दुःख दिने भय छ । 

तरिका नमिल्दा गरिएका पुरुषार्थ खेरा जानसक्ने भएकाले उचित ग्रह उपचारका उपाय अवलम्बन गरी अघि बढ्नु बुद्धिमानी एवं उपलब्धिकर हुनेछ । 

महादशा अन्तर्दशा योगिनी दशा आदिमा प्रतिकूल दशा चल्नेहरूलाई यस्ता विपरीतफल बढी घटित हुन सक्ने छन् ।

वर्षको उत्तरार्धतिरबाट भने अनुकूलता बढ्ने छ । अध्ययनमा गोचरग्रहको सकारात्मक प्रभाव बढ्ने हुनाले विद्यार्थीले पढाईमा बढी समय दिएर सफलता प्राप्त गर्न सकिने छ । 

रोकिएर रहेको अध्ययनलाई पूरा गर्न सकिने छ । उद्यम व्यावसायमा उन्नति प्रगति हुन जाने छ । खेलकुद लगायत प्रतिस्पर्धाजन्य कार्यमा सफल भइने छ  । 

राजनीति समाजसेवा आदिमा पनि सफलता मिल्ने छ । यात्रापक्ष पनि सवल बन्ने हुनाले वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको लागि पनि समय यात्रानुकूल बन्ने छ । 

परदेशीलाई कमाई बोकेर घर फर्कने अवसर मिल्ने छ । विवाहयोग्य युवायुवतीको वैवाहिक सम्बन्ध जोडिने छ । विवाहितहरूको दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ ।


घरपरिवारमा समझदारी बढ्ने छ । गृह निर्माण हुने तथा जग्गासम्बन्धी कारोबार हुने योग छ । रोजगारीको प्रतिक्षामा रहनेहरूलाई जागिर मिल्ने छ । जागिरेलाई पदोन्नति हुनेछ । 

धार्मिक एवं आध्यात्मिक कार्यमा सफलता मिल्ने छ, तीर्थयात्रा हुनसक्ने देखिन्छ । पशुचौपाया, कृषि फार्मिङ्ग आदिबाट पनि लाभ मिल्ने छ, किसान पेशाकर्मीले स्वकर्मक्षेत्रमा कर्मयोग बढाएर बढी फाइदा उठाउन सकिने छ । 

व्यापार व्यवसाय, उद्योगधन्दा तथा पेशाक्षेत्रमा स्तरोन्नति हुनजाने छ । उन्नति प्रगतिको कारण आर्थिक लाभ पनि बढेर जानेछ । धैर्यतापूर्वक कर्मयोगलाई जारी राख्नाले अपेक्षित कार्यमा सफलता मिल्ने छ । 

नीति, सिद्धान्तमा भने विचलन नआउला भन्न सकिन्न तसर्थ आफ्नो निष्ठामा अडान लिनु उचित हुनेछ । माघसम्म सन्तानपक्ष कष्टकर देखिएको छ । कष्ट तथा अन्तद्र्वन्द नहोला भन्नसकिन्न । 

गर्भावस्थामा रहेका दम्पतिले अल्लि बढी ख्याल पुर्याउन जरुरी पर्नेछ । रपनि वर्षको मध्यतिरबाट क्रमशः केही दोषको बाबजुत छोराछोरीको तर्फबाट सुख एवं सन्तोष मिल्न थाल्ने छ । वर्षान्ततिर सन्तानाभिलाषीलाई सन्तान प्राप्तिको योग पनि बनेर गएको छ ।

कब्जियत, अर्श अथवा पाइल्स, अल्सर, लिभर, पाचनतन्त्रको समस्या आदि पेटरोगका सिकायत हुनसक्ने देखिन्छ । उच्चरक्तचाप, मधुमेह, यक्ष्मा तथा हर्मोनिक रोगका रोगीहरूलाई पनि बढी सास्ती मिल्ने छ, सावधानी अपनाउनु उचित हुनेछ ।

यो वर्ष कन्या राशिका व्यक्तिहरूले इष्टदेवताको साथमा महावीर हनुमान एवं भैरवदेवको साथमा वर्षको मध्यसम्म माँ बगलामुखी तथा विद्यार्थीले माँ सरस्वतीको श्रद्धाभक्ति उपाशना आराधना गर्नु, यसैगरी विद्यार्थी बालबालिकालाई पाठ्य सामग्री दान दिनु, गाईको सेवा गर्नु, मजदुरको सम्मान तथा सहयोगमा भूमिका निर्वाह गर्नु फापकर हुनेछ । 

अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले राहु एवं केतुको वर्षभरी, यसै गरी वर्षको मध्यसम्म गुरु बृहस्पतिको र माघसम्म शनि ग्रहको शान्तिका 
उपायहरू अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । साथै कन्या राशि हुने व्यक्तिहरूले हरियो, मध्यम रातो र निलो तथा कालो रङ्गको वस्तुबाट फाइदा लिन सकिने छ ।

यसैगरी १, २, ३ र ६ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने ७ अङ्कको प्रयोग मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकतत्व विचार पुर्याउनु उचित हुने कुरालाई मनन् गर्न जरुरी भने हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ