arrow

उपलब्धि दिन अलमल गरेको वर्ष २०७९ मा यस्तो हुनेछ तुलालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-tula-libra.jpg

तुला राशिका लागि नयाँ वर्ष २०७९ सालको पूर्वखण्ड त्यसै अनुकूल देखिएको छ । तर, खास उपलब्धि दिन ग्रहगोचरले अल्लि अलमल गर्दैछ । विशेष महत्वपूर्ण कामलाई पूर्ण गर्न विशेष खालकै ग्रहउपचारको उपाय गरेर मात्रै कार्यसम्पादन गर्नु पर्ला । 

अध्ययन, अध्यापन एवं लेखन आदिमा सुधार आउने छ । सन्तानाभिलाषीलाई सन्तान प्राप्ति हुनेछ । भएका सन्तानको बाटोबाट सुखसन्तोष मिल्ने छ । विवाह योग्य युवायुवतीको विवाहबन्धन गाँसिने योग जुरेको छ । 

पेशागत उन्नति प्रगति हुनगइ आर्थिक पक्ष केही बलियो हुनेछ । अल्लि विशेष तयारी गर्नाले वेरोजगारीलाई रोजगारी मिल्ने छ । जागिरेलाई पदोन्नति हुनेछ । संघर्ष तथा केही अवरोधको बाबजुत धार्मिक एवं आध्यात्मिक कार्यमा आंशिक सफलता मिल्ने छ, तीर्थयात्राको पनि संयोग जुट्न सक्ने छ । 

दलालीकरणबाट बचेर विदेश यात्राको प्रोसेस गर्नाले वैदेशिक यात्राको बाटो हेरिरहेकाहरूको यात्रा तय हुनेछ । कृषि फार्मिङ्ग जस्ता पक्षबाट तुरुन्तै नभएर पछि लाभको अपेक्षा गर्नु उचित हुनेछ । पशुचौपाया आदिमा हानी हुनसक्ने भय देखिएको छ, नयाँ लगानी नगरेकै राम्रो हुनेछ । व्यापार व्यवसाय, उद्योगधन्दा तथा पेशाक्षेत्रमा मन्दीको महसूसी हुनेछ । धैर्यतापूर्वक कर्मयोगलाई जारी राख्नाले अपेक्षित कार्यलाई अगाडि बढाउन सकिने छ ।

पारिवारिक, छरछिमेक, समाज, सहकर्मी आदि पक्षमा ग्रहले विपरित प्रभाव गर्न खोजिरहेको हुनाले बढी साथ सहयोगको अपेक्षा नगरेको सुखकर हुनेछ । सत् नछाड्ने र स्वकर्ममा रत् रहने तथा संयमपूर्वक बुद्धिले काम लिने कर्मयोगीहरूले संभावित खतिक्षतिलाई टार्न सकिने छ । 

निस्काम कर्मयोगको सिद्धान्तलाई आत्मसात गर्दै कर्तव्यको पालना गर्नु उचित हुनेछ । हिम्मत नगिराई सकारात्मक सोँचको साथमा अघि बढ्नु तपाईको लागि हितप्रद हुनेछ । वर्षको मध्य उपरान्त गोचरग्रहमा केही विपरित स्थिति सृजना हुनजाने छ । महादशा आदिमा अकारक तथा प्रतिकूल दशा चल्नेहरूलाई पारिवारिक कष्ट तथा रोगशोकको भय छ । 

दाम्पत्य एवं प्रेम सम्बन्धको मधुरता घटाउनसक्ने छ । दैविक विपत्ति, व्यवहारिक एवम् व्यवसायिक समस्याहरू आइलाग्नसक्ने संभावना छ । जग्गा तथा घरघडेरीको किनबेचमा फसिने समय छ । सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर रहेकोले सावधानी अपनाउनु उचित हुनेछ ।

यस्तै, सञ्चित धनको खर्च हुने जोखिम छ, शिर तथा मस्तिष्क रोग आदिको भय छ । अन्य दीर्घ स्वास्थ्य समस्याको पनि भय रहन्छ नै । शारीरिक स्वास्थ्यको साथसाथै मानसिक बलमा पनि मन्दि आउनसक्ने छ । खाइपाइ आएको सेवा सुविधाबाट च्यूत गराउन ग्रहगोचरले बल गरी रहेको हुनाले संबन्धित व्यवहार गर्दा निकै सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । 

तुला राशि हुने व्यक्तिहरूले सेतो, निलो, हरियो र मध्यम रातो एव कालो रङ्गको प्रयोग अथवा वस्तुबाट फाइदा लिन सकिने छ । बहुरङ्गी मिश्रणको चमकदार वस्तु पनि फापकर हुनेछ । 

यसैगरी ३, ४ र ७ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने १ र ८ अङ्कको प्रयोग मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकतत्व विचार पुर्याउनु उचित हुने कुरालाई मनन् गर्न भने जरुरी हुनेछ । 

यो वर्ष तुला राशिका व्यक्तिहरूले इष्टदेवताको साथमा वर्षभरी नै महावीर हनुमान एवं भैरवदेव र छिन्नमस्तादेवीको, वर्षको उत्तरार्धपछि माँ बगलामुखीको यसै गरी विद्यार्थीहरूले माँ सरस्वतीको उपाशना आराधना र ब्रह्मज्ञानी गुरुको आशीर्वाद लिनु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले शनि, राहु र केतुको वर्ष भरी नै र वर्षको मध्यपछि गुरु बृहस्पति ग्रहको उपयुक्त शान्तिका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ