arrow

पूर्वार्ध भन्दा उत्तरार्ध बढी फलदायी भएको यस्तो हुनेछ वृश्चिकको यो वर्ष

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-brishik-scorpio.jpg

वृश्चिक राशि हुने व्यक्तिहरूको लागि नयाँ वर्ष २०७९ साल अल्लि अलमले वर्ष रहेको छ । वर्षको पूर्वार्धको अपेक्षामा उत्तरार्ध बढी फलदायी रहने छ । वर्षको पहिलो खण्डमा गोचरग्रह परिषद्मा केही ग्रहसदस्यहरू विपरीत रहेकाले केही संघर्षप्रद रहने कुरालाई नकार्न सकिन्न । 

साविकभन्दा अल्लि बढी मेहनत गरेर आंशिक उपलब्धि प्राप्त गर्नसकिने छ । प्रतिकूल ग्रहहरूको उपचारको उपाय गर्नाले उद्यम व्यवसायमा केही उन्नति हुन जाने छ । दाम्पत्य तथा प्रेम जीवनमा देखिएको असहजता हट्ने र समझदारीको वातावरण बन्ने देखिन्छ । बढी अपेक्षा एवं चाहना र आसक्ति गरेको कामलाई पूर्णता दिन बढी सास्ति भोग्नपर्ने हुन्छ । 

खासै महत्व नपाएको काम भने बनेर गर्जो टर्नेछ । पारिवारिक, छरछिमेक, समाज, सहकर्मी आदि पक्षमा साथ सहयोगको अपेक्षा कम गरेको सुखकर हुनेछ । महादशा अन्तर्दशा एवं योगिनीदशा आदिमा अकारक तथा प्रतिकूल दशा चल्नेहरूलाई पारिवारिक कष्ट तथा रोगशोकको भय छ । 

जग्गा तथा घरघडेरीको किनबेचको कामकार्यमा अल्लि सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । वादविवाद तथा मुद्धामामिला पर्नसक्ने संभावना भएकोले जनव्यवहारमा सजग रहनु उचित हुनेछ । दाजुभाइबीचको सम्बन्ध टाढिनसक्ने देखिन्छ । सञ्चित धनको खर्च हुने तथा सरसापट्टी दिएको धन नफर्कने जोखिम छ । 

विधर्मी लुच्चाले धन ठग्ने योग परेको हुनाले लेनदेनमा निकै ख्याल पुर्याउनु होला । वर्षको उत्तरार्धबाट चारमहिना जति सुविस्ता महसुस हुनेछ । ग्रह उपचारका उपायहरू अप्नाएर अघि बढ्दा सफलता हातपार्न सकिने छ । अध्ययनमा पनि अनकूलता बढ्ने छ । 

विवाह योग्य युवायुवतीको विवाहबन्धनको लगनगाँठो कसिने छ । पेशागत उन्नति प्रगति हुनगइ आर्थिक पक्ष पनि बलियो हुनेछ । विरोधीहरूको अवरोधको सामना गर्न परिरहे पनि साहस र हिम्मतले साथ दिनेछ । 

होसियारीपूर्वक नबिराउने र नडराउने सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नाले केही पुरुषार्थ गर्नसकिने छ । संघर्ष एवं द्वन्द्वको बाबजुत न्यायिक विजय मिल्ने छ । कलाकारको लागि पनि यो समयमा उपलब्धि हासिल हुनेछ । कैफियत आम्दानीतर्फको चेष्टालाई संयम गरेको बुद्धिमानी हुनेछ । अन्यथा पछि पछुत्तोमा परिने र ईज्जत प्रतिष्ठामा पनि दाग लाग्न सक्ने भय रहने छ ।

राजनीतिक भूमिका तथा सामाजिक प्रतिष्ठामा बृद्धि हुनेछ । कृषि, पशुचौपाया आदि क्षेत्रमा छोटो समयलाई तसै अनुकूल मान्नसकिन्छ । महादशा आदिमा प्रतिकूल तथा अकारक ग्रहको दशा चल्नेहरूलाई पिनाश, माइग्रेन, थायराइड, पौरुष ग्रन्थी, हर्मोनिक डिस्ब्यालेन्स, हात, छाती एवं घाँटी आदिमा समस्याको भय छ । 

आहार विहारमा सजग हुनु बुद्धिमानी हुनेछ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकतत्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । 

र पनि वृश्चिक राशि हुने व्यक्तिहरूले रातो, सेतो, पहेंलो रङ्गको प्रयोग अथवा यी रङ्गका वस्तुको प्रयोगबाट फाइदा लिन सकिने छ । यसैगरी अङ्कमा २, ४ र ५ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने १ र ३ अङ्कको प्रयोग मध्यम रहनेछ । 

यस वर्ष वृश्चिक राशिका व्यक्तिले भैरवदेव एवं छिन्नमस्ता देवी र वर्षको मध्यसम्म माँ बगलामुखी एवं विद्यार्थीले माँ सरस्वतीको साथै वर्षान्ततिरबाट पवनपुत्र महावीर हुनमान र माँ भगवतीको उपाशना तथा दर्शनभक्ति गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्तिवक तरिकाले वर्ष भरी केतु र वर्षको मध्यसम्म गुरु बृहस्पतिको साथै माघ उपरान्त शनि ग्रहको उपयुक्त शान्तिका उपाय अवलम्बन गर्नु शुभकर हुनेछ ।
 



नयाँ