arrow

को बन्छ सशस्त्रको अबको आईजीपी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । पुष्पराम केसी सशस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् । यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गत सोमबार आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकास पाएपछि २०७८ चैत ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सरकारले केसीलाई ११औँ महानिरीक्षकमा बढुवा गरेको हो । 

खनाल महानिरीक्षक भएको चार वर्ष नपुगेको भए हालका आइजीपी केसी अतिरिक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकास पाउँथे । तर ससस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि अनिवार्य अवकाश हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो । 

सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आईजी भएको चार वर्ष जुनअघि आउँछ त्यही मितिबाट अनिवार्य अवकास लिनुपर्ने व्यवस्था छ । आइजीका प्रतिष्पर्धीमा उनीसँगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल पनि थिए तर वरीयताका आधारमा सरकारले केसीलाई पदोन्नति गरेको हो । तीस वर्षे सेवा अवधिका कारण उनीहरु यही वैशाख १८ गते अवकाश लिँदै छन् ।  

विसं २०२३ भदौ १५ गते नुवाकोटको तलाखु–३ मा जन्मिएका सशस्त्र प्रहरी महानिरीक्षक केसी हाल काठमाडौँको हात्तिगौडामा बस्छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए गरेका केसी २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सत्य, सेवा, सुरक्षणम्को झण्डामुनी रहेर सेवा दिन तल्लिन भए । 

विसं २०५८ वैशाख ४ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल, नेपालमा स्थानान्तरण भएका सशस्त्र प्रहरी महानिरीक्षक केसी नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए । 

अबको १८ दिनपछि एआईजी पद रिक्त हुने भएकाले हाल रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सशस्त्रको १२औँ आईजीपी नियुक्त गरिने छ । हाल एआईजीको दुई सिटमध्ये एउटा खाली छ । 

गृहमन्त्रालयको बढुवा समितिले बुधबार नै सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकको पदोन्नतिका प्रयोजनार्थ प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक प्रमाणपत्र पेश गर्न तीन दिनको समयसीमा दिइसकेको छ । 

आईजीको फुली लगाएकै दिन केसीले बढुवा समितिका सदस्यसचिवको हैसियतले दावी पेश गर्न सूचनामार्फत डीआईजीलाई आग्रह गरेका छन् । वरीयतामा अगाडि रहेका हालका डीआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्येबाट एक जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुने र उनी नै भावी आईजीपी हुने देखिन्छ । त्यसैले अहिलेको बढुवा प्रक्रियालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विदुर खड्काका अनुसार अर्याल एक नम्बरमा छन् भने पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा छन् । अर्याल र पौडेल नेपाल प्रहरीबाट र गौतम नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ