arrow

भाग्य भन्दा कर्मलाई महत्व दिनुपर्ने धनुको यस्तो हुनेछ यो वर्ष

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-dhanu-saggitarus.jpg

धनु राशिका लागि २०७९ साल भाग्यभन्दा पनि कर्मलाई महत्व दिनपर्ने खालको रहेको छ । अपेक्षित कामकार्यलाई पूरा गर्न मेहनत बढाउनु पर्ने हुन्छ । प्रतिकूल ग्रहहरूको उपचारको उपाय गर्नाले उद्यम व्यापार व्यवसायमा केही उन्नति गर्नसकिने छ । रपनि वर्षको पूर्वार्ध अर्थात शुरुका पाँच छ महिना तसै राहतप्रद रहने छन् । 

यद्यपि बढी आशक्ति गरेको विशेष महत्वपूर्ण कामलाई पूरा गर्न संघर्ष पर्नेछ । सञ्चितधनको खर्च, साविकभन्दा बढी फजुल यात्रा, मिथ्यावाद अथवा झुटो लाञ्छना, आफैलाई तथा परिवारमा पनि रोगशोकको सामना जस्ता विपरितफलको बाबजुत सामान्यतया पदप्रतिष्ठा बढ्ने र पेशा तथा उद्योगधन्दामा प्रगति हुनगई आर्थिक उन्नति हुनेछ । 

कृषि एवं पशुपालनबाट पनि केही लाभ उठाउन सकिने छ । अल्लि बढी तयारी गर्नाले रोजगारीको अवसर मिल्ने छ । गोचरग्रह परिषद्मा केही ग्रहसदस्यहरू विपरित रहेकाले केही संघर्ष अनुभव हुने नै छ । अध्ययन अध्यापनमा बढी नै परिश्रम गर्नुपर्ला, अन्यथा रोकावट तथा विषय परिवर्तनको संभावनालाई नकार्न सकिन्न । वर्षको उत्तरार्धबाट स्थिति अल्लि थप कठिन पनि बन्न सक्ने छ । 

विद्वताको अहं र आत्म प्रसंशाको मनोविज्ञानको कारण मूल्याङ्कनमा गिरावट आउने छ । कतिपय अवस्था तथा व्यवहारमा कर्तव्य एवं जिम्मेवारी निभाउन पर्ने ठाऊँमा चुकिन पनि सकिने छ ख्याल पुर्याउनु होला । निस्कामकर्मको सिद्धान्तले अवसरको सदुपयोग गर्दै स्वकर्ममा रत् रहनसकेमा तत्काल नभए पनि भविष्यमा उपलब्धि लिनसकिने छ । हिम्मत पनि नगिराउने र नविराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नु तपाईको लागि बुद्धिमानी हुनेछ ।

महादशा, अन्तर्दशा, योगिनी दशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरूलाई वादविवाद, अपयश, मुद्धा मामिला, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता विभिद् प्रतिकूलता पर्न सक्ने छ । 

सन्तानकष्ट तथा छोराछोरीको बाटोबाट असन्तोष पर्ने भय छ । गर्भावस्थाका दम्पत्तिले विशेष ख्याल पुर्याउन पर्ने हुन्छ । विश्वासघाती चक्रब्यूह, कुलती कुसंगत, विपरित खानपान आदिको भय पनि देखिन्छ । गुप्त रोग, शिरशुल, माइग्रेन, पिनास, नाककान घाँटीका समस्या, दन्तरोग, अर्श (पाइल्स), ग्रन्थी रोग (गाँठागुँठी बढ्ने), प्याङ्क्रियाज, मिर्गौला, थायराइड, पौरुष ग्रन्थी, वातव्याधि जस्ता स्वास्थ्य समस्या हुनसक्ने छ । 

उच्चरक्तचाप, मधुमेह, यक्ष्मा आदि दीर्घरोगी लगायत सम्बन्धितहरूले आहार विहार एवं नियमित औषधोपचारमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ । वर्षान्त अर्थात माघ महिनाको अन्तिमबाट तपाईलाई साढेसाती शनिदशा सकिने छ जसको कारणले रोकिएर रहेका धेरै कामकार्यहरूलाई पूर्णता दिनसक्नु हुनेछ । गुमेको मानसान र साख फर्काउन सकिने छ । प्रगति उन्नतिका ढोकाहरू खुलेर आउने छन् । विजय र सफलता मिल्ने छ । यशऐश्वर्य बृद्धि हुनेछ ।

यस वर्ष तपाईले इष्टदेवको साथमा माँ बगलामुखी, विद्यार्थीहरूले माँ सरस्वतीको र भैरवदेव एवं माँ छिन्नमस्तादेवीको वर्षभरी, साथै माघमहिनासम्म महावीर हनुमानको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले गुरु बृहस्पति एवं राहुको वर्षभरी र माघसम्म शनिग्रहको शान्तिका उपयुक्त उपायहरू अवलम्बन गर्नु शुभकर हुनेछ । 

जागिर पेशा व्यवसायिक कर्म आदिको शिलशिलामा घर बाहिर अथवा देश विदेश कहीँ पनि हुनुहुन्छ र ग्रहशान्तिजन्य कर्मकाण्डी विधिविधान गर्न सम्भव हुँदैन भने पनि बुबाआमा हुनेहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा जसरी सकिन्छ उहाँहरूको सेवा गर्नाले, लोपोन्मुख स्थानीय जातिका गाईको वंशलाई संरक्षण गर्ने हेतुले स्थापना भएका गौशालाहरूलाई सहयोग गर्नाले, दीनदुःखी असहाय, रोगी, असक्त, बालबृद्धहरूलाई सेवाको लागि सञ्चालन भएका निकायहरूलाई सहयोग गर्नाले साथै अहिंसा आदि सत्याचरणमा रहेर परोपकार एवं लोकहितको कर्म गर्नाले पनि ग्रहजनित दुस्प्रभावलाई कम गर्न सकिन्छ । 

कतिपय व्यक्तिललाई फाप्ने कलर एवं नं.को बारेमा जान्ने ईच्छा हुन सक्छ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकत्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । तथापि राशिको आधारमा कलर र नं. जान्न चाहनुहुने धनु राशि हुने व्यक्तिहरूले पहेंलो, रातो र सेतो रङ्गको प्रयोग अथवा यी रङ्गका वस्तुको प्रयोग गर्नसक्नु हुनेछ । यसै गरी अङ्कमा १, ५ र ९ अङ्कको प्रयोग गर्न सक्नु हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ